• मंसिर १५ २०८१, शनिबार

सरकारले फेरि थप्यो नेपालीको टाउकोमा ऋणको भार, प्रति व्यक्ति ६८ हजार ९ सय ७ रुपैयाँ ऋण

भाद्र २८ २०७९, मंगलवार

काठमाडौं । तपाईको टाउकामा ऋणको भार कति छ ? व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगत रूपमा नै होला । तर तपाईको थाप्लोमा सो बाहेक राष्ट्रको ऋण पनि वर्षेनी थपिदै जाने क्रम बढ्दो छ ।

नेपालको जनसंख्याको अनुपातमा हाल प्रति व्यक्ति सार्वजनिक ऋणको भार आर्थिक सर्वेक्षण अनुसार हाल प्रत्येक नेपालीको थाप्लोमा ६८ हजार ९०७ रुपैयाँ ऋणको भार थपिएको छ । सरकारले लिएको आन्तरिक र वाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा नेपालीको टाउको ६८ हजारभन्दा बढी ऋणको भार परेको देखिन्छ ।

यसअघि गत पुस मसान्तसम्म कायम १७ खर्ब २८ अर्ब ९३ करोड ९३ हजार ६ सय ७१ रुपैयाँ ऋणलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रुपैयाँ रहेको थियो । आर्थिक सर्वेक्षणअनुसार १८ खर्ब ४८ अर्ब रुपैयाँ सार्वजनिक ऋणमध्ये ८ खर्ब ६३ अर्ब आन्तरिक ऋण र ९ खर्ब ८४ अर्ब बाह्य ऋण हो ।

गत आर्थिक वर्षको भन्दा ६.३९ प्रतिशत बढेर १८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षमा यस्तो ऋण १७ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो ।

हाल सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने निर्णय गरेसँगै नेपालीको थाप्लोमा थप ऋणभार थपिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय समेत भएको कार्कीले जानकारी दिए । गत चार वर्षअघि २०७५ मा नेपालीको थाप्लोमा प्रति व्यक्ति ऋण ३० हजार हाराहारी रहेको थियो । हाल नेपालीको टाउकोमा चार वर्षको अन्तरमा ऋण भार ५० प्रतिशतले बढेको छ ।

कुल गार्हस्थ उत्पादनको साढे ४० प्रतिशत सार्वजनिक ऋण

आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार नेपालको कुल गार्हस्थ उत्पादन ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

सार्वजनिक ऋण कुल जीडीपीको यसको ४०.५३ प्रतिशत रहेको छ । यसमध्ये बाह्य ऋण जीडीपीको २२.२४ र आन्तरिक ऋण १८.२८ प्रतिशत रहेको तथ्यांक छ ।

जीडीपीको तुलनामा सार्वजनिक ऋण

आन्तरिक ऋण : १८.२८ प्रतिशत
बाह्य ऋण : २२.२४ प्रतिशत
कुल सार्वजनिक ऋण : ४०.५३ प्रतिशत