२०७९ भदौ २२३ ।
काठमाडौं । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले पुष्पलाल र प्रचण्डहुँदै विप्लवले लिएका अस्पष्ट कार्यदिशाकै आधारमा पार्टी चलाएकोले नेपाली कम्युनिस्टहरु घुमिफिरी संसदीय दलदलमा फस्न पुगेको बताएका छन् । बुधबार संवाद डबलीमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख सागर लिम्बुसहित १ दर्जन नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै बास्तोलाले सो कुरा बताएका हुन् । उनले निर्धक भएर जनताको पक्षमा लाग्न निर्देशन समेत दिए ।
संयोजक बास्तोलाले २०३५/३६ सालदेखि कम्युनिस्ट तथा क्रान्तिकारी उतारचढाब र सफलता–असफलताको गम्भीर समिक्षा गरेर नेकपा (बहुमत) निर्माण गरेकोले आफ्नो पार्टी क्रान्तिकारी र जनपक्षीय हुने दाबी गरे । विश्वमा पूँजीवादी बहुदलीय संसदवादले आफ्नो प्रगतिशील चरित्र गुमाइसकेको र नेपालमा कम्युस्टि भनिएका दलहरु दक्षिणपन्थी दलापूँजीवादमा फसिसकेकोले त्यसको एक मात्र विकल्प नेकपा (बहुमत) हुने जिकिर गरे ।
सागर लिम्बुले नेपालमा विभिन्न टुटफूटले नेपाली जनताको ठूलो आशा र भरोसामा तुसारापात भएको र प्रचण्डदेखि विप्लवले केबल आफू आफ्नो वारिपरीको लागि १० वर्षे जनयुद्दको उपलब्धिको दुरुपयोग गरेको आरोप लगाए । लिम्बुले बहुमतमा परिपक्व र बौद्धिक नेताहरुले नेतृत्व गरेको हुँदा उत्पीडित जनताले मुक्ति पाउने आशा रहेको बताए ।
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका विभाग प्रमुख सागर लिम्बु, केन्द्रीय सदस्यहरु बद्रिकुमार चौलागाईं, सकल लिम्बु, सविन दाहाल, आतिश मिश्र, निश्चल परियार र स्वतन्त्र तथा कम्युनिस्ट रामचन्द्र बलामीसहित १ दर्जनबढी नेकपा (बहुमत) मा धु्रविकृत भएका हुन् ।
पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीसहितका नेता कार्यकर्ता उपस्थित भएको सो कार्यक्रमको सञ्चालन केन्द्रीय आयोजक समिति सदस्य शरद रसाइलीले गरेका थिए ।