घोराही २०, भदौ । छानामा दुई खुट्टाले ठिङ्ग उभिएका कालो, खैरो, खरानी रंगका परेवा पहरेदार जस्तै मानिन्थे । घोराही सुधार गृहका चार बुर्जामा रहेका हतियार सहितका सुरक्षाकर्मी जस्तै खोरको पहरेदारी गरेका थिए । तिनीहरु उभिएको टिनको छानो मुनि अरु परेवा छन् ।
तिनवटा जति परेवा अण्डा कोरल्न गुँडमा थिए । पुच्छर तर्फबाट फ्वारर्र फिँजारीएका दृश्यले कोराल्न बसेको बुझिन्थ्यो । र्याकका केही खोर रित्तै थिए । केहीमा आरामले निदाएका थिए । यस्तै दृश्य कारागार भित्रका हलहरुमा कैदीबन्दीको देखिन्थ्यो । कैदीबन्दी पनि कोही निदाएका, कोही फिल्म हेर्दै, कोही यसो पल्टेर दलिनतिर टुलुटुलु हेर्र्दै आराम लिएका थिए ।
भित्ताभरी काँटी ठोकेर कपडा टङ्गाएका थिए । पसलका जस्तै खापा खापा भएका र्याक छन् । तिनमा कतै खोर बनाएका त कतै त्यस्तैमा परेवा बस्ने बनाइएको छ । त्यो पनि कैदीबन्दी आफैले बनाएको र परेवा पालेका हुन् । भुइँमा चारो खाँदै गरेका एकहुल परेवा थिए । कालो र खरानी रंगको एकजोडी परेवा मायाप्रेम साट्न लागेको जस्तै आमनेसामने थिए । तिनको प्रेमलापको संकेत दिने दृश्यले भावना पैदा गर्दथ्यो ।
तिनको मायाप्रेमको शैली केहीबेर हेर्ने हो भने जो कोही मानिस आफ्नो प्रेम सम्झिन्थ्यो । केही बन्दीले पनि चाँडै घर फर्किने याद बिझाउनु पर्छ । चारो खानेहरु पनि मिलेर खान्थे । आपसमा ठुङाठुङको झैझगडा नगरेर खाइरहेका देखिन्थे । तिनलाई पनि निज्याउने हो भने, बाँडी खाने भाव पैदा हुन्थ्यो । झगडा गर्नुहुन्न भन्ने सन्देश थियो । चोरी डकैती मुद्धामा कैद तोकिएका लागि ठुलो सन्देश थियो । आफू भन्दा सानोलाई मारपिट गरेर लुट्नेहरुलाई पनि सबक सिकाउँथ्यो ।
आफ्ना आङ आफै कन्याई रहेका थिए । आफ्ना जुम्रा आफै चुच्चोले ठुङेर मार्दै थिए । एक्लै घाममा रल्ल परेका थिए । पुरै भुत्ला फरर्र पारेर नाच्नै आँटेका जस्ता पनि लाग्थे । उड्नै खोजेका हुन् जस्तापनि थिए । अघाएर उङ्दै गरेको पाइए । उनीहरु अनेक तरहबाट व्यस्त थिए । यसले सक्ने जति काम आफै गर र नोकर चाकर नराख भन्ने सन्देश दिन्थ्यो । अरुलाई लदाएर सताएर, पीडा दिएकालाई ग्लानी गराउँथ्यो । यसो त उनी धागोको झल्लर हालेर तयार गरिएका राता हरिया पूजा टोकरी कैदी बन्दीका उत्कृष्ट कला थिए । बाक्ला र स्तरीय गलैँचा बनाउने काममा उनीहरुको क्षमता देखिन्थ्यो ।
डाईनिङ सेट पनि अत्यन्तै आकर्षक लाग्थे । यसले ती परेवा भन्दा कम परिश्रमी भन्न मिल्दैनथ्यो । तिनै परेवालाई चारो, पानी र सरसफाई पनि आफैले गर्ने भएकाले सबै गतिविधि पालैपालो हेर्ने अवसर हुन्थ्यो । व्यक्त नगरेपनि केही सन्देश र शिक्षा लिन्थे । ‘कृषि कर्म, निर्माण कार्य, सीप विकास तथा फर्निचर बनाउने सिप सिकाउँदैछौँ’ आफ्नो कार्यकक्षको दराज सिकाउँदै जेलर बासुदेव खनालले भन्नुभयो, ‘यो पनि उहाँहरुले बनाउनु भएको हो । उहाँहरुमा रहेको बदलाभाव कसरी बदल्ने र सकारात्मक सोँच सहितको सृजनशील बनाउने बारेमा सोचिरहेका छौँ ।’
उहाँका अनुसार परेवा पालन पनि मासु खानलाई होइन । भित्र बसेकालाई बियाँलिन भनेर पालिएको हो । हरेक कैदीबन्दीको चालचलनको रेकर्ड राखिन्छ । राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था छ । एक जनाले ३० वटा अण्डा पाउनु भएको हो । सबै कैदी बन्दीलाई हप्ताको तिन दिन भेटघाटको समय छुट्याइएको छ ।
असल चालचलन भएकोलाई कैदीबन्दीलाई त्यस बाहेक अरु दिन पनि भेटघाटको अवसर छ । बलियाले निर्धालाई दबाउन नपावस् भनेर जेलरसँग सिधा सम्र्पक कार्यक्रम छ । त्यसै अन्तर्गत शान्तिको दुत मानिने परेवालाई पनि घोराही कारागारको सुधार गृह भित्र कैदीबन्दीसँगै महत्वको साथ पालिएको हो ।