• बैशाख २६ २०८३, शनिबार

सिट बाँडफाँडले कांग्रेसभित्र रडाको : देउवा-शेखर पक्षबीच रस्साकस्सी, प्रचण्ड-नेपाल असन्तुष्ट

भाद्र २० २०७९, सोमबार

काठमाडौं । आसन्न मंसिर ४ मा देशैभर एकै चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तासिन दलहरूबीच सिट बाँडफाँडको रस्साकस्सी चलेको छ । गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेसँगै दलहरूबीच सिट बाँडफाँडको रस्साकस्सी चलेको हो ।

सत्तासिन दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा (राजमो)ले आ–आफ्नो अडान नत्यागेपछि सिट बाँडफाँडमा रस्साकस्सी चलेको छ ।

प्रतिनिधिसभामा एक सय ६५ र प्रदेशसभामा तीन सय ३० निर्वाचन क्षेत्र छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले ८६ सिट लिएर सहमति गर्ने मनसाय बनाएको स्रोत बताउँछ । तथापि नेता डा. शेखर कोइराला पक्षले एक सय सिट कदापि नछोड्ने अडान राखेको महामन्त्री गगनकुमार थापाले बताए । थापाले पार्टीको एक सार्वजनिक कार्यक्रममा बोल्दै कांग्रेसले सय सिट छोड्न नमिल्ने अडान राखेका छन् । उनले भने, ‘सत्तासिन दलहरूबीच केही दिनमै चुनावी सिट बाँडफाँडको टुंगो लाग्छ, त्यो भन्दा पहिले कांग्रेस सय सिटभन्दा तल झर्दैन । बाँकी बचेका सिट अन्य दलको भागमा पर्छ ।’

महामन्त्री थापाले आफ्नो अडान नछोड्ने बताए पनि सभापति देउवा पक्ष लचिलो बनेको छ । दलहरूबीच आपसी सम्बन्धलाई नचिड्याउन लचिलो बन्ने देउवा पक्षका युवा नेता प्रदीप पौडेलले बताए । पौडेलले भने, ‘कांग्रेस लगायत अन्य दलहरूले महत्त्वाकांक्षा त्याग्नुपर्छ, बढीभन्दा बढी सिट पाउन कसलाई चाहाना हुँदैन र ? तर, दलीय भागबण्डामा आ–आफ्ना आकांक्षा गौण राख्नुपर्छ । सत्तासिन दलबीच मतभेद अन्त्य गरी सिट बाँडफाँडमा समानता कायम गर्नुपर्छ । यसका लागि कांग्रेस लचिलो बन्छ ।’

गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यहरूबीच गत बिहीबार झन्डै ११ घण्टा सिट बाँडफाँटबारे गम्भीर छलफल भएको थियो । उक्त छलफलमा कांग्रेस ८४, माओवादी केन्द्र (बाबुराम भट्टराई र वामदेव गौतम)सहित ४७, जसपा १३, एकीकृत समाजवादी १८, लोसपा २ र राष्ट्रिय जनमोर्चाले १ सिट लिनेमा करिबकरिब सहमति भएको कार्यदलका एक सदस्यले बताए । लोसपा अबको केही दिनमै सत्ता गठबन्धनमा सामेल हुने बताएको छ ।

यसअघि कांग्रेसले सय, माओवादी केन्द्रले ६०, जसपाले ३२, एकीकृत समाजवादीले ४०, जनमोर्चाले २ सिटको दाबी गरेका थिए । यसमा डा. बाबुराम भट्टराई र वामदेव गौतमसमेत माओवादी केन्द्रकै चुनाव चिह्नबाट चुनाव लड्ने भएकाले ६० सिटसम्म मिलाउन सकिने जनाइएको थियो । तर, प्रचण्डले आफू ५० सिटभन्दा तल नझर्ने गरी प्रस्ताव ल्याएका थिए । यद्यपि सत्तासिन दलका शीर्ष नेताहरूले आफ्नो अडानबाट एकरत्ति तल नझरेपछि बटम लाइनअनुसार नै सिट बाँडफाँड सहमति नजिक पुगेको छलफलमा सहभागी एक नेताले बताए ।

दलहरूबीच सिट बाँडफाँड मिलाउने प्रयास भइरहे पनि मुख्य दल कांग्रेसलाई आन्तरिक समस्या समाधानमा चुनौती देखिन्छ । कांग्रेसभित्रै शेखर पक्ष एक सय सिट पाउनुपर्ने दाबी गदैृ आएको छ । उसले आफ्नो मुद्दाको सुनुवाइ नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । सिट बाँडफाँडमा केन्द्रीय कमिटीदेखि टिकट वितरणमा समेत ४० प्रतिशत दाबी गरेको शेखर पक्षले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सय सिटभन्दा तल झरेर आफ्नो पार्टीले निर्णय नगर्ने अडान दोहोर्याउँदै आएको छ ।

यसो गर्दा ४० जना कोइराला पक्षका नेता सांसदमा अटाउने दाउमा रहेपनि देउवा पक्षले करिब ८६ सिट लिएर गठबन्धनमा तालमेलको सहमति गर्ने र शेखर पक्षलाई २० प्रतिशत सिट दिने तयारी गरेको बुझिएको छ । सभापति देउवाले केन्द्रीय समितिमा मनोनयन गर्दा आफ्नो पक्षका २० प्रतिशत मात्रै केन्द्रीय सदस्य बनाएको भन्दै कोइराला पक्षले यसअघि पनि असन्तुष्टि जनाएको थियो ।

शेखर समूहका एक नेताका अनुसार, ‘सभापतिले सबैलाई मिलाएर लिने आश्वासन दिए पनि पुनः एकलौटी ढंगले अघि बढ्ने क्रमलाई निरन्तरता दिएको र आफूहरूले टिकट वितरणमा ४० प्रतिशत पाउने सम्भावना छैन ।’ उनले भने, ‘हामी पार्टी भित्रको समस्या समाधान गरेर जानुपर्छ भन्ने पक्षमा छौँ । तर, सभापतिजीले सधैँ पेलेर लाने, आफ्नो पार्टीका भन्दा प्रचण्ड–नेपालजीका नेताहरूलाई साथ दिने र कांग्रेसका नेताहरूलाई पाखा लगाउने कोसिस गर्नुभयो भने हामी कानमा तेल हालेर बस्दैनौँ ।’

कांग्रेसको तुलनामा सत्तासिन दलहरू टिकट वितरणलाई सर्वसम्मत बनाउने कोसिस गरिरहेका छन् । माओवादी केन्द्रका नेताहरूलाई व्यवस्थापन कसरी गर्ने भन्ने छलफल भइरहेको छ । माओवादी केन्द्रका नेताहरू धेरै भएकाले उनीहरूलाई व्यवस्थापन गर्न कठिन हुने भन्दै नेतृत्वको निर्णयलाई स्वीकार्नु पर्ने माओवादी केन्द्रका सचिव राम कार्कीले बताए ।

त्यस्तै जनता समाजवादी पार्टीले पनि सम्मानजनक सिट संख्या पाउनुपर्ने दाबी गर्दै आएको छ । उसले आफूले भनेको सिट संख्या नपाए पनि सम्मानजनक सिट बाँडफाँडमा हुनुपर्ने बताएको छ । स्थानीय तह निर्वाचनमा जस्तो आफूलाई अपमान भए मौन नबस्ने जसपाले बताउँदै आएको छ । उसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफूले सके भनेजति नभए सम्मानजनक चुनावी सिट संख्या पाउनुपर्ने बताएको छ ।

सत्तासिन दलहरुबीच सिट बाँडफाँड गर्न बैठक बस्नुअघि प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार छलफल भएको छ । उक्त छलफलले तत्काल प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँड टुंगो लगाउने र त्यस लगत्तै प्रदेशसभा निर्वाचनको सिट संख्या टुंग्याउने बताइएको छ ।

पाँच दलीय गठबन्धनले हालसम्म चुनावी सिट बाँडफाँडको टुंगो लगाएको छैन । कहिले लगाउने भन्नेमा अझै निष्कर्षमा नपुगेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए । उनका अनुसार, ‘केही दिनमै चुनावी सिट बाँडफाँड टुंगो लाग्ने छ भने त्यस लगत्तै प्रदेशसभा निर्वाचनको सिट बाँडफाँड पनि टुंगिने छ ।’