• जेष्ठ ३ २०८३, आईतवार

डे‌ङ्गु संक्रमणबाट देशभर चार जनाको मृत्यु

भाद्र २० २०७९, सोमबार

काठमाडौं । देशभर फैलिएको डे‌ङ्गुका संक्रमणबाट हालसम्म चार जनाको मृत्यु भएको छ । हाल ७२ जिल्लामा डे‌ङ्गु फैलिएको छ । डेङ्गुका संक्रमणबाट एक गर्भवती महिलासहित चार जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपाल मेडिसिटी अस्पताल ललितपुरमा गत बुधबार ३८ वर्षीय पुरुषको डेङ्गु संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै कपिलवस्तुमा डेंगुका कारण ३५ वर्षीया महिलाको मृत्यु भएको छ । धादिङमा डेंगुका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएपनि बिरामीमा अन्य स्वास्थ्य समस्या पनि रहेको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले गत साता एक गर्भवती महिलाको डेंगुको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

काठमाडौं उपत्यकाका ठूला अस्पतालमा पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दैनिक करिब १८० जना डेंगु संक्रमित बिरामी उपचारका लागि आउने गरेको जनाएको छ । कतिपय अस्पतालले एउटै शय्यामा दुई जना बिरामी राख्न बाध्य छन् ।