• जेष्ठ ३ २०८३, आईतवार

लागुऔषध राखेर निर्दोष व्यक्ति फसाउन खोज्ने गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी

भाद्र २० २०७९, सोमबार

काठमाडौं । लागुऔषध राखेर निर्दोष व्यक्ति फसाउने कार्यमा संलग्न भएको भन्दै नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पुर्जी जारी भएको छ।

भारतीय नागरिकलाई योजनाबद्ध तरिकाले फसाउन लागुऔषध राखिएको विषय अनुसन्धानबाट पुष्टि भएपछि गुप्ताबिरुद्ध पक्राउ पुर्जी जारी भएको हो । गाउँपालिका अध्यक्ष गुप्ताको योजनामा भारतीय नागरिकद्वय रामा गुप्ता र जितेन्द्र पासवानलाई फसाउन लागुऔषध राखेर प्रहरीमार्फत् पक्राउ गराइएको पाइएको छ। असार २२ गते लागुऔषधसहित पक्राउ परेका भनिएका दुई निर्दोष भारतीय नागरिक पनि दुई महिना बित्दासम्म प्रहरी हिरासतमै छन्।

यी दुई भारतीयबाट असार २२ गते प्रहरीले २७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गनलगायतका लागुऔषध बरामद गरेको थियो। गुप्तासँगै उनको सहयोगीको रुपमा खटिएका पूर्वनगर प्रहरी रघुनाथ धोबी, विवेक पाण्डेलाई पनि प्रतिवादी बनाइएको पाइएको छ। धोबी भने यसअघि नै पक्राउ परेर प्रहरी हिरासतमै छन्।

अनुसन्धानका क्रममा गुप्ताले योजनाबद्ध रुपमा फसाउन र एक करोड रुपैयाँभन्दा बढी हडप्ने उद्देश्यले घटनाको योजना बनाई फसाएको खुलेको छ। साथै गाउँपालिका अध्यक्ष गुप्ताको योजनामा नवलपरासीका एसपी ऋषिराम कँडलले पनि साथ दिएको हुनसक्ने भन्दै उनीमाथि पनि छानबिन भएको छ।