बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग एक्लै चुनाव लड्न कुनै दलको आँट नभएको बताएका छन् ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले दलहरूले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि गठबन्धनको बैसाखी टेकेको बताए ।
‘एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट देखिएन,’ उनले भने । पौडेलले आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको जिकिर गरे ।
उनले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन भातृ संगठनहरूलाई आग्रह समेत गरे । निर्वाचन सम्मुखमै आइसकेको बताउँदै पौडेलले एमालेका लागि अनुकूल नतिजा आउने गरी परिणाम निस्कने गरी आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे ।