काठमाडौं । १८ भदौ । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी चौधरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेकीछिन् ।
एक कार्यक्रमकाबीच उनलाई पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले स्वागत गरे ।
भालुबाङमा जारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश समितिको बैठकका क्रममा चौधरी माओवादी केन्द्रमा प्रवेशगरेकी हुन् ।
चौधरी जसपाको लुम्बिनी प्रदेश सचिव पनि थिइन् । उनी भरखरै जिल्ला भूमि आयोगको विज्ञ सदस्यको रुपमा नियुक्त भएकी थिइन् ।
पार्टी प्रवेश गर्दै लक्ष्मी चौधरीले नेकपा माओवादीबाटै जनजाति अधिकारको लागि थप आन्दोलन गर्न सहज हुने र जनआन्दोलनमा माओवादीको भूमिका ठूलो भएको बताइन् । उनले अब माओवादीमा रहेर सङ्गठन विस्तारमा लाग्ने बताइन् ।
चौधरीलाई स्वागत गर्दै उपाध्यक्ष महराले उनलाई पार्टीले उचित जिम्मेवारी दिने बताए । जसपाबाट बाबुुराम भट्टराई अलग भइसकेपछि उपेन्द्र यादव नेतृत्वको जसपाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।