• बैशाख २६ २०८३, शनिबार

जनयुद्ध लडेका विजयलाई उपचार खर्चको अभाव : नेकपा(बहुमत)ले गर्यो सहयोग

भाद्र १८ २०७९, शनिबार

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला समिति पाल्पाले माओवादी जनयुद्धका महत्वपूर्ण भूमिका निभाएका क्रान्तिकारी नेता सोमबहादुर सार्की‘विजय’लाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । पाल्पाको भज्याङ्ग घर भएका विजय भदौ १ गतेदेखि युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारार्थ हुनुहुन्छ ।

उहाँलाई निमोनिया भई फोक्सोमा पानी जमेपछि उक्त पानी फाल्न अप्रेसन गरिएको छ र अहिले मेडिकल वार्डमा राखि उपचार भइरहेको छ ।

उहाँ तत्कालीन नेकपा (माओवादी)ले संचालन गरेको जनयुद्धमा २०५८ पुसदेखि निरन्तर लाग्नु भएको थियो । र हाल पनि देशमा अग्रगमन र परिवर्तनको पक्षमा लागि रहनु भएको इमान्दार र असल क्रान्तिकारी कम्युनिस्ट योद्धा हुनुहुन्छ । जनयुद्धमा सामेल भएर अहिलेसम्म क्रान्तिका पक्षमा उभिनु भएका विजयलाई सहारा दिने कोही छैन् ।

जनयुद्धको नेतृत्वको पार्टी नेकपा माओवादीदेखि विप्लव नेकपासम्म आउँदा कसैले वास्ता नगरेको उहाँकी श्रीमती कालिमायाले बताउनुभयो ।

यो कुराको जानकारी पाउन साथ नेकपा (बहुमत) जिल्ला समिति संयोजक कमरेड दिग्दर्शन र सो पार्टीको सहायक संगठन युवा जनस्वयम सेवकका केन्द्रीय सदस्य मोहन निवाङको टोलीले अस्पताल मै पुगेर रु १०,०००/-अक्षरुपी दशहजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

उक्त रकम हस्तान्तरण गर्दै संयोजक दिग्दर्शनले जनयुद्ध लडेका माओवादी कम्युनिस्ट क्रान्तिकारी योद्धाहरुको साहारा अहिले कोही नभएको सुन्दा दुःख लागेको भन्दै उहाँले आफूहरुले उहाँलाई सकेको साथ सहयोग गर्ने थप प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । साथै उहाँले आफ्नो पार्टीले माओवादी क्रान्तिकारी कम्युनिस्ट योद्धाको संरक्षण गर्न भरपुर लाग्ने समेत बताउनुभयो ।

जनयुद्धका योद्धा विजयको अहिले घरमा कोही पनि नभएको र सहयोग पनि कसैले नगरेको हुँदा उहाँको उपचार खर्च र खाना खर्च पनि सकिएको छ । पाँच दिन अगाडिबाट खाना खर्च सकिएपछि अस्पतालमा अन्य विरामी लिएर आउने कुरुवाहरुले थोरै थोरै खानाको लागि सहयोग गरिरहेका छन् ।