काठमाडौं । अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिले नेपालकै ठूलो त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय भइरहेको अराजकताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै सो समितिका इन्चार्ज गोविन्द विष्टले खोज, अध्ययन र अनुसन्धानको नेतृत्व लिनुपर्ने त्रिवि प्राज्ञिक क्षेत्र राजनीतिक भागबण्डाको अखडा बनेको भन्दै त्रिवि बन्दको श्रृङ्खला अन्त्य गर्न सम्बन्धित पक्षसँग माग गरेका छन् ।
साथै उनले विद्यार्थी संगठनको आवरणमा भइरहेका अनैतिक तथा अपराधिक गतिविधि नियन्त्रण गरी त्रिवि धरासायी बनाउने दोषीहरुलाई कडा कारवाहीको माग गरेका छन् ।
दुई विद्यार्थी संगठन अनेरास्ववियु र नेविसंघको आ–आफ्नो प्रतिष्ठाको लडाइँले गर्दा पछिल्लो समय त्रिवि अनिर्णयको बन्दी बन्न पुगेको छ विष्टको विज्ञप्तिमा जनाइएको छ । परिक्षामा अघिल्लो ष्र्वाको प्रश्न दोहोरिएको भन्दै नेवि संघले त्रिविमा तालाबन्दी गरेको छ ।
विष्टद्धारा जारी प्रेस विज्ञप्ति
खोज, अध्ययन र अनुसन्धानको नेतृत्व लिनुपर्ने विशुद्ध प्राज्ञिक क्षेत्र नेपालको सबै भन्दा पहिलो र ठुलो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय राजनितिक भागबण्डाको अखडा बनेको र विद्यार्थी संगठनको आवरणमा भइरहेको अराजकताप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । वार्षिक कार्यतालिका अनुसार पठनपाठन, परिक्षा र परिक्षाफल प्रकाशित नहुनु, वरिष्ठता, योग्यता र क्षमताका आधारमा नभई दलका कार्यकर्ता भर्ती गरिनु, कमिसनको खेलमा भइरहेको त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण र दुरुपयोग, आर्थिक चलखेलमा हुबहु प्रश्नपत्र दोहोरीने र सम्बन्धन दिने घटनाले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर र विश्वसनियता खस्कँदो छ । देशको मस्तिष्कको प्रतिक मानिने विश्वविद्यालय भागबण्डाबाट आएका पदाधीकारीहरुको असक्षमता र गैरजिम्मेवारीपनले निरन्तर धरासायी बन्दै गइरहेको छ ।
पछिल्लो समय सधै खुल्ला रहनुपर्ने विश्वविद्यालयमा तालाबन्दी र तोडफोड गरिनु, उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमला गरिनु त्रिवि कार्यकारी परिषदको माइन्युट खोस्नु विभिन्न इक्षाशक्तिले सेवा आयोगमा तालाबन्दी गरिनु लगायतका कयौं समस्याहरु उत्पन्न हुँदा समेत त्रिवि प्रशासन र राज्य प्रशासन लाचार बनेको घटनाले राज्य नै त्रिवि धरासायी बनाउन लागिपरेको गम्भीर आसंका जन्मिएको छ । विद्यार्थी संगठनको खोलमा उपप्राध्यपक प्रेम चलाउने माथी गरिएको सांघातिक आक्रमणका दोषीहरुलाई उन्मुक्ति दिन ज्यान मार्ने उद्योगको मुद्धा फिर्ता गर्ने चलखेल, त्रिवि पदाधिकारीहरुले गरेको सुरक्षा माग लगायतका विषयले राज्य सुरक्षा दिन असफल भएको वा नदिएको आभाष सबैलाई भएको छ ।हाम्रो संगठन विश्वविद्यालय बन्दको श्रृङ्खला अन्त्य गर्न सम्बन्धित पक्षका जायज मागहरु तत्काल सम्बोधन गर्ने संयन्त्र खडा गरी विश्वविद्यालय सधै खुल्ला गर्ने वातावरण सृजना गर्न र संगठनको आवरणमा भइरहेका अनैतिक तथा अपराधिक गतिविधि नियन्त्रण गरी त्रिवि धरासायी बनाउने दोषीहरुलाई कडा कारवाहीको माग गर्दछ । अन्यथा त्याग, तपस्या, बलिदानी र समर्पणको पर्याय, परिवर्तनको मूल प्रवाह हाम्रो संगठन त्रिविको दुर्दशाप्रति मुखदर्शक बन्न सक्दैन, आन्दोलनको आँधिबेहरी सृजना गर्नेछ । जसले निम्तिने परिस्थितिको जिम्मेवार त्रिवि प्रशासन र राज्य हुनेछ ।
कान्तिकारी अभिवादन सहित !
१६ भाद्र २०७९
………………
गोविन्द विष्ट
इन्चार्ज
