• बैशाख २६ २०८३, शनिबार

सबै प्रचण्ड बन्न खोज्दा चुनाव हारियो : दाहाल

भाद्र १७ २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको गुटबन्दीका कारण माओवादी चुनावमा पछि परेको बताएका छन् । अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा प्राप्त मतपरिणाम बारे बोल्दै पार्टीका उम्मेदवारले जति मत ल्याए त्यसबा सन्तुष्ट हुन नसकिने बताए ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘१७५ दाबी गरेका थियौं तर १२५ मा सीमित रह्यौँ । विगतमा जितेका पालिका पनि गुमाएका छौं । ५० भन्दा बढी पालिका हार्यौं । पार्टी भित्रका व्यक्तिवादी र स्वार्थी मान्छेहरुका कारण हार व्यहोर्नुपर्यो ।’

उनले कार्यकर्ताका कारण नभई नेताहरुका कारण निर्वाचन हारिएको समेत बताए । पार्टीभित्र धेरै स्वार्थी गुट रहेको बताउँदै उनले नेताहरु आफैं प्रचण्ड बन्न खोजेका कारण निर्वाचन हारिएको बताए ।

उनले भने, ‘प्रचण्डको नेतृत्वमा माओवादी एउटै छ तर भित्रभित्र स्वार्थी गुट छ । म त कर्णालीमा पनि गुटैगुट देख्छु । भन्ने बेलामा पार्टीको मुख्य नेता प्रचण्ड भन्ने तर व्यवहारमा ‘मै हुँ प्रचण्ड’ भन्ने स्थितिका कारण निवार्चनमा हारियो ।’ उनले कर्णालीका नेता कार्यकर्तालाई पनि गुटबन्दी रोक्न आग्रह गरे ।