• जेष्ठ ३ २०८३, आईतवार

३४ युट्युब च्यानललाई कारबाही गर्न सिफारिस

भाद्र १६ २०७९, बिहीबार

काठमाडौं ३४ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरिएको छ । प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई कारबाही गर्न आज एक प्रेस विज्ञप्ति जारी गरेको हो ।

सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने वीरगोर्खाली नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेसँगै यो सङ्ख्या ३४ पुगेको जनाएको छ । यो सङ्ख्या २०७८ साउन १ देखि अहिलेसम्मको हो ।

वीर गोर्खाली नामक च्यानलले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसहितलाई आधारहीन आरोप र गालीगलौज सहितको सामग्री सम्प्रेषण गरेको थियो । उक्त युट्युब च्यानलले नियमित समाचारजन्य सामग्री सम्प्रेषण गरेपनि समाचार माध्यमका रूपमा कतै दर्ता नभएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

दर्ता भएर सञ्चालनमा रहेका १४ वटा युट्युब च्यानललाई आचारसंहिताबमोजिम कारबाही गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । काउन्सिलले पत्रकारिताका मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने, अन्तराष्ट्रिय समझदारी र मित्रराष्ट्रबिच भाइचाराको सम्बन्धमा खलल पुर्‍याउने, अदालतमा विचारधीन अवस्थामा रहेका विषय न्यायिक निरुपणमा प्रभाव पार्ने, वैयक्तिक गोपनीयता प्रतिकूल, पीडितलाई थप पीडा पुग्ने खालका सामग्री सम्प्रेषण भएका युट्युब च्यानल कारबाहीमा परेको प्रष्ट पारेको छ ।