१३ भदौ । बाँकेको कोहलपुर नगरविकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालिएको छ ।
कोहलपुर नगरविकास समितिका अध्यक्षसमेत रहेका नगरपालिकाका मेयर पूणर्प्रसाद आचार्यको नेतृत्वमा सोमबार न्यूरोड क्षेत्रबाट डोजर लगाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको हो ।
न्यूरोडमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि कोहलपुर बसपार्क पुग्दा भने अवरोध भएको छ ।
व्यवसायीहरूले डोजर चालकमाथि ढुङ्गा प्रहार गर्न थालेपछि अवरोध हटाउने काम रोकिएको छ । स्थानीय व्यवसायीले विकल्प दिएर मात्रै संरचना हटाउनुपर्ने माग गरेका छन् ।
मेयर आचार्यले आफूहरूको अभियानमा अवरोध भए पनि काममा सहयोग गर्न नगरवासीसँग आग्रह गरे ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्ल, जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक हिमालय शाहसहितको टोलीको सहयोगमा कोहलपुरमा अतिक्रमित संरचना हटाउने अभियान सुरु गरिएको हो ।
काठमाण्डौ महानगरपालिकाबाट सुरु भएको अतिक्रमित र अनधिकृत संरचना हटाउने अभियान देशका विभिन्न पालिकाले अनुशरण गरिरहेका छन् ।