• बैशाख २६ २०८३, शनिबार

संसद् बाहिरका कम्युनिस्ट पार्टीहरूद्वारा चुनाव बहिस्कार, राज्यले दमन गर्ला ?

भाद्र १३ २०७९, सोमबार

काठमाडौं । संसद् बाहिरका कम्युनिस्ट पार्टीहरूले आसन्न मंसिर ४ मा हुने संघ र प्रदेशसभाको निर्वाचन बहिस्कार गर्ने भएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा बहुमत ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले निर्वाचन बहिस्कार गर्ने भएका हुन् ।

६ वटा पार्टीले आगामी मंसिर ४ मा हुने संघ र प्रदेशसभाको निर्वाचनमा माग नलिने भएका छन् । विगतका वर्षहरूमा सम्पन्न भएका निर्वाचनमा यीमध्ये केही पार्टीले निर्वाचनमा भाग लिए पनि यस पटक भाग नलिने भएका हुन् । उनीहरूले निर्वाचनमा भाग नलिने भन्दै बहिस्कार गर्ने भएका छन् ।

संसद् बाहिरका साना कम्युनिस्ट पार्टीहरूले संगठित भएर निर्वाचन बहिस्कार गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनमा अवद्ध दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) पार्टी लगायत प्रतिपक्षी दल नेकपा (एमाले) र अन्य संसदीय दलहरूले निर्वाचन बहिस्कार गर्ने विप्लव नेतृत्वका नेकपाका केन्द्रीय सदस्य चिरण पुनले बताए ।

पुनले भने, ‘बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा हाम्रा केही नेता साथीहरूले स्वतन्त्र हैसियतमा भाग लिए पनि संघ र प्रदेशसभा निर्वाचनमा भाग नलिने भन्ने छ । पार्टीको मूल उद्देश्य भनेकै संसदीय व्यवस्थाको खिलापमा उत्रिने हो । त्यहीँ व्यवस्थाले जन्माएको निर्वाचन प्रणाली हाम्रा लागि उपयुक्त छैन । यसर्थ हामी चुनाव बहिस्कार गरेरै अगाडि बढ्ने भन्ने पक्षमा छौँ ।’

त्यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदूस्य हरिकृष्ण गजुरेलले संघ र प्रदेशसभा निर्वाचनमा आफूहरूले भाग नलिने बताए । ‘आगामी निर्वाचनमा भाग लिने हामीले कुनै तयारी गरेका छैनौँ, स्थानीय तह निर्वाचन बहिस्कार गरिसकेका छौँ । यसर्थ आगामी निर्वाचनमा भाग लिने भन्ने कुरै हुँदैन । यस विषयमा पार्टीले आधिकारिक निर्णय गरिसकेको छ । यसर्थ हामीले चुनावमा भाग नलिने पक्का छ ।’

धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा बहुमतका केन्द्रीय सदस्य पूर्णबहादुर सिंहले पनि आफ्नो पार्टीको चाहाना निर्वाचनमा भाग लिनु नभएको बताए । निर्वाचनकै इस्सुका कारण नेकपा विभाजनको सिकार बन्न पुग्यो । पार्टीले यत्रो क्षति मोलेर यहाँसम्म पुगेको छ । फेरि बीचैमा निर्वाचनमा भाग लिने कुरा पार्टीको नैतिकता बाहिर हुन्छ । त्यसैले हाम्रो पार्टी नेकपा बहुमतले चुनाव बहिस्कार गर्ने आधिकारिक निर्णय गरिसक्यो । निर्णय बेगर हामी चुनावमा जाँदैनौँ ।

तर, ६ कम्युनिस्ट साना राजनीतिक दलहरूले कसरी निर्वाचनलाई बहिस्कार गर्ने भन्ने खाका तयार नगरेको बताइएको छ । नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले ‘चुनाव बहिस्कारको लागि भनेर हालसम्म सामुहिक निर्णय नभएको बताए । निर्वाचन आउन अझै केही समय बाँकी भएकाले अहिले नै आत्तिनुपर्ने अवस्था छैन । निर्वाचनको मुखैमा निर्णय गर्न पनि सकिन्छ । खासमा हामी निर्वाचन बहिस्कार गर्ने पक्षमा रहेका पार्टीले हिंसारहीत बहिस्कार गर्ने भन्ने नै छ । यद्यपि राज्य पक्षले हामीमाथि दमन गरेमा त्यसबारेमा सोच्ने नै छौँ । तर, यतिबेला हामीले यही गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ ।’

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफ्नो पार्टीले पनि निर्वाचन बहिस्कार गर्ने बताएका छन् । ओली नेतृत्वको सरकारले नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याएपछि पनि बारम्बार आफ्ना नेता तथा कार्यकर्तामाथि राज्यले दमन गर्दै आएको, जेल जीवन बिताइरहेका नेता तथा कार्यकर्तालाई रिहा नगरेको उनको गुनासो छ ।

त्यस्तै उनले नेकपाका महासचिव विप्लवलाई पक्राउ पुर्जी जारी गर्नु आपत्ति भएको बताए । सरकारले विप्लवलाई साउन ६ गते पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिसकेको छ । त्यसयता उनी भूमिगत जीवनशैली बिताइरहेका छन् । उक्त पुर्जी जारी भए पश्चात् विप्लवले विज्ञप्ति नै निकालेर हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन् ।

संसद् बाहिरका झन्डै ६ वटा राजनीतिक दलहरूले संयुक्त मोर्चाबन्दी गरेर आसन्न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेसँगै गृह प्रशासनले सुरक्षा सतर्कता अपनाउने भएको छ । उसले परिस्थिति जुनसुकै बेला पनि फेरबदल हुनसक्ने भन्दै सुरक्षा निकायसँग छलफल गर्दै आएको छ । यस विषयमा गृह मन्त्रालयमा निर्वाचन सुरक्षाका लागि पटकपटक छलफल हुँदै आएको गृह स्रोत बताउँछ ।

संसद् बाहिरका साना कम्युनिस्ट पार्टीहरूले चुनाव बहिस्कार गरेका छन् । उनीहरूको बहिस्कारले निर्वाचन प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाइएको गृह सहसचिव टेकबहादुर केसीले बताए । केसीका अनुसार, ‘निर्वाचन आफैमा संवेदनशिल विषय भएकाले सुरक्षा सतर्कता अपनाउनु नौलो होइन । तर, विगतका निर्वाचनमा विशेष गरी विप्लव नेतृत्वको नेकपाले चुनावमा शान्ति सुरक्षामा खलल हुने कार्य गरेको थियो । त्यसका लागि बलियो सुरक्षा रणनीति तय गरेका थियौँ । सोही कारण चुनाव सम्पन्न भयो । तथापि यस पटक पनि यसै भन्न नसकिने भएकोले सुरक्षा स्थिति मजबुत बनाउँछौँ । र, निर्वाच भयरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन्छ ।’