• बैशाख २६ २०८३, शनिबार

सरकारी गठबन्धनमा रहेका दलहरु एउटै ड्याङका मुला हुन् : वृषेशचन्द्र लाल

भाद्र १२ २०७९, आईतवार

काठमाडौं । तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले मुलुकमा अहिले चलिरहेको गठबन्धनको राजनीति निर्वाचनमा आफ्नो सिट सुरक्षित गर्न र भोटको गणितमा आधारित मात्र रहेको बताएका छन् ।

आइतबार महोत्तरी गाउँपालिकामा आसन्न निर्वाचनको सन्दर्भमा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लालले सत्तारुढ गठबन्धनको कुनैपनि सिद्धान्त र कार्यक्रममा आधारित नभई निर्वाचनमा सिट सुरक्षित गर्नका लागि भएको बताए ।

उनले वर्तमान गठबन्धन सिद्धान्त र कार्यक्रमको आधारमा नरहेकाले नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायतका दलहरू आ–आफ्नो सिद्धान्तलाई तिलाञ्जली दिएको आरोप लगाए ।

उनले गठबन्धनमा रहेका दललाई एउटै ड्याङ्गका मूला रहेको भन्दै उनले भने, ‘यी सबमा कोही लोकतन्त्रवादी वा वामपन्थी छैनन्, यी सबैको भ्रममा पर्नु ठीक नहुने र परियो भने ठगिने निश्चित छ ।’

गठबन्धनको निर्माण कुनै खास एजेण्डाको आधारमा नभएको र यस्तो गठबन्धन वर्तमान निर्वाचन प्रणालीको मजाक उडाइरहेको आरोप लगाउँदै उनले मतदाताले समानुपातिक मत कसलाई र कुन आधारमा हाल्ने भन्ने प्रश्न खडा भएको बताए ।

खास गरी समानुपातिक समावेशीतालाई महत्वहीन बनाइँदै लगिएको उनको आरोप छ । त्यस्तै तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले मधेश केन्द्रित दलहरुले मधेशको एजेण्डा बिसाइदिएको कारणले तराई–मधेश लोकतान्त्रिक पार्टी सक्रिय भएको बताए ।