• बैशाख २६ २०८३, शनिबार

चर्को शुल्क उठाउने विदेशी शैक्षिक संस्था विरुद्ध संघर्ष गर्ने क्रान्तिकारीको निर्णय

भाद्र १२ २०७९, आईतवार

काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

२ दिनसम्म चलेको बैठकले नेपालको हित विपरित विदेशी लगानीमा चलेका शैक्षिक संस्थाविरुद्ध सङ्घर्षको घोषणा गर्ने निर्णय गरेको छ । भदौ १० र ११ गतेसम्म बसेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

क्रान्तिकारीको बैठकले विदेशी लगानीमा नेपालमा स्थापना भएका शैक्षिक संस्थाले विद्यार्थीसित महंगो शुल्क उठाउने गरेकोले नेपाली पैसा बाहिरिने हुँदा देशमा आर्थिक संकटलाई अझ बढावा दिएको निष्कर्ष निकालेको छ ।

यही कारणले ती विदेशी संस्थाविरुद्ध संघर्ष गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जनाए । बैठकमा संगठनका केन्द्रीय अध्यक्ष मिलन राईले शिक्षा नीति र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले शैक्षिक घोषणा पत्र–२०७९ प्रस्तुत गरेका छन् ।

तीन खण्डमा रहेको सो घोषणापत्रको तेस्रो खण्डमा रहेका मुद्दा, माग र आन्दोलनका विषयमा बैठकले विस्तृत छलफल गरेको केन्द्रीय सदस्य मिमबहादुर ऐडीले जानकारी दिए ।

बैठकले ‘प्रज्वल संगठन सुदृढ तथा विस्तार अभियान’लाई निरन्तरता दिने निर्णय पनि गरेको छ । बैठकमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनबाट विद्रोह गरी आएका स्थायी कमिटी सदस्य गणेश रोकायालाई पार्टीका फ्याक्सन इन्चार्ज पूर्णबहादुर सिंहले अविर लगाएर स्वागत गरेका थिए ।

धर्मेन्द्र बास्तोला संयोजक रहेको नेकपा (बहुमत) पार्टीको आगामी फाल्गुणमा हुन गइरहेको महाधिवेशनलाई लक्षित गरेर सो पार्टी निकट विभिन्न भ्रातृ संगठनले वर्तमान संसदीय व्यवस्थाविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

यही कार्यक्रम अन्तरगत क्रान्तिकारीले पनि आफ्नो संगठनले विदेशी शिक्षण संस्था विरुद्ध आन्दोलन चलाउने निर्णय गरेको हो ।

यसै अभियान अन्तरगत सो विद्यार्थी संगठनद्धारा भदौ २ गतेदेखि १५ दिने अभियान चलाइरहेको छ । सो अभियानमा सहभागीहरूले मिटरब्याजीलाई तुरुन्त कारबाही गर, प्रत्यक्ष निर्वाचित न्यायपालिकाको व्यवस्था गर, राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठन गर जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गर्ने लगायतका विरोधका कार्यक्रमसहित धेरै स्थानहरुमा कोणसभा पनि गरिएका छन् ।

साथै बैठकले ‘स्वास्थ्य, शिक्षा र रोेजगार सुनिश्चित गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि सरकारले सहमति गर्नुपर्ने, सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा निजीकरण रोक्नुपर्ने लगायत माग राख्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

सो अभियानमा मातृपार्टी नेकपा (बहुमत)ले साथ दिने भएको जनाइएको छ । साथै बैठकले विद्यार्थी सहिद प्रज्वल शाहीकी बहिनी कलशा शाहीलाई पढाई खर्चका लागि रू २० हजार आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ ।