काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सरकारसँग सुरक्षा मागेको छ। त्रिविले विज्ञप्ति जारी गरी विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षा मागेको हो।
विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ (कीर्तिपुर) का विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप छ। पदाधिकारीको कार्यकक्षमा प्रवेश गर्ने तथा तोडफोड गरिँदा असुरक्षित भएकाले शान्ति सुरक्षा माग गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘केन्द्रीय कार्यालयको मुख्य प्रशासनिक भवनमा गरिएको तालाबन्दी र काम गर्न गरिएको अवरोधको कारणले विश्वविद्यालयका दैनिक काम–कारबाही रोकिएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी विश्वविद्यालयलाई बन्धक बनाउने गरी तालाबन्दी गर्ने समूहको खोजी गरी त्यस्ता व्यक्तिलाई आवश्यक कारबाही गर्नुको अतिरिक्त त्रिवि केन्द्रीय कार्यालयमा शान्ति सुरक्षा गर्न भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयसमक्ष विश्वविद्यालय अपिल गर्दछ।’