• बैशाख २६ २०८३, शनिबार

राष्ट्रपति भण्डारीले राजीनामा दिने कुरा हल्ला मात्रै

भाद्र ९ २०७९, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले राजीनामा दिने कुरा हल्ला मात्रै भएको बतएकी छन् ।

सभामुखले पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर राष्ट्रपतिले नागरिकता विधेयक पारित नगरी राजनीतिक कदमका रूपमा राजीनामा दिन सक्ने चर्चा केही दिनदेखि भइरहेका छन्।

पूर्वसैनिक अधिकारीहरूलाई बुधबार अपराह्न शीतल निवासमा बोलाएकोमा त्यहाँ बहालवाला प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूलगायत पुगेका थिए। राष्ट्रपतिले धन्यवाद दिनु भन्दै पूर्वसैनिक अधिकारीलाई निम्त्याएकी थिइन्, सो क्रममा रात्रीभोज पनि भएको थियो। राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुन्।

राष्ट्रपति भण्डारीले विभिन्न विषयमा कुराकानी गरेकी थिइन्। प्रतिनिधि सभाबाट हालै दोस्रो पटक पारित नागरिकता संशोधन विधेयकबारे पनि त्यहाँ कुरा उठेको थियो।

राष्ट्रपतिले प्रमाणीकरणका लागि पुगेको नागरिकता संशोधन विधेयक पुनः संसदमै फिर्ता गरे पनि हुबहु प्रतिनिधि सभाबाट फेरि पारित भइसकेको छ भने राष्ट्रिय सभामा पेश हुने तयारीमा छ।

पूर्वसैनिक अधिकारीहरूले पनि नागरिकता संशोधन विधेयकबारे आ-आफूलाई लागेका कुरा राष्ट्रपतिलाई सुनाएका थिए।

पूर्वउपरथी सुरेश कार्की लगायत सहभागीले ‘नागरिकतामा तपाईंले लिएका कदम ठिक छन् तर यसैलाई लिएर राजीनामा दिनेसम्मका कुरा आएका छन् नि !’ भन्ने प्रसङ्ग उठाएका थिए।

जवाफमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाले नागरिकता विधेयक हुबहु पारित नगरेको भए हुन्थ्यो भन्दै अब राष्ट्रिय सभामा छलफल बाँकी नै रहेको बताएकी थिइन्। उनले नागरिकता विधेयकबारे संविधानअनुसार निर्णय हुने पनि बताएकी थिइन्।