काठमाडौँ । उच्च अदालतको न्यायाधीशबाट बर्खास्त भएकी रेणु शाहको मागबमोजिम अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
शाहले आफ्नो बर्खास्ती खारेज गर्नेसम्बन्धी अन्तरिम आदेश माग गर्दै रिट दायर गरेकी थिइन्। तर, सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मंगलबार निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो।
‘न्यायाधीश नियुक्ति र पदमुक्त गर्नेसम्बन्धी समग्र प्रावधानहरु तथा न्यायिक अभ्यास र सिद्धान्तहरुको सापेक्षतामा व्याख्या गरी पूर्ण सुनुवाइको अवस्थामा नै सबै प्रश्नरुको निरुपण गर्नु उचित देखियो’, आदेशमा भनिएको छ, ‘रिट निवेदकको योग्यतासम्बन्धी यस प्रकारको महत्वपूर्ण प्रश्न खडा भएको अवस्थामा अहिले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु सुविधा सन्तुलन तथा अपूरणीय क्षति समेतका अवधारणागत दृष्टिले मनासिव देखिएन।’