• बैशाख २६ २०८३, शनिबार

रेशमसहित टीकापुर राजबन्दीलाई तत्काल रिहा गर्न टीकापुरको माग

भाद्र ७ २०७९, मंगलवार

काठमाडौं।सुशासन, समृद्धि र सद्भावको लागि टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरी सांसद् रेशम चौधरीसहित सम्पूर्ण राजबन्दीलाई रिहा गर्नुपर्ने माग गरिएको छ । २०७२ भदौ ७ गते टीकापुरमा घटना भएको दिनलाई विद्रोह दिवसको रुपमा मनाउन मंगलबार टीकापुरमा आयोजित छुट्टा–छुट्टै समारोहका वक्ताहरूले राजनीतिक दलहरुले घटनालाई राजनीतिक घटना भने पनि निर्णय गर्न नसकेको बताएका हुन् ।

उनीहरुले थारु समुदायले राजनीतिक माग राखि गरेको आन्दोलनमा भएको घटनालाई लिएर आन्दोलनमा संलग्न निर्दोष व्यक्तिलाई जेल सजाय गरेकोप्रति विरोध जनाएका छन् । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रेशम चौधरी विजयी भएपनि पाँच वर्षदेखि कैलालीको निर्वाचन क्षेत्र नं.१ संघीय जनप्रतिनिधिविहीन भएको छ ।

थरुहटरथारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारिणी सभालगायतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका मेयर एवं नागरिक उन्मुक्तिका नेता रामलाल डंगौरा थारुले भने, ‘विकास, समृद्धि र सदभावको लागि तत्काल टीकापुर घटनाको अभियोगमा थुनिएका बन्दीहरुलाई तत्काल रिहा गरिनुपर्छ । उहाँहरुको रिहाइपछि टीकापुरमा कहिलै पनि सद्भाव बिग्रने छैन ।’

आसन्न निर्वाचन अगाडि नै जेलबन्दीहरुलाई रिहा गरी सामाजिक सद्भावको वातावरण राज्यले सिर्जना गर्नुपर्ने समेत मेयर थारुको माग थियो । कैलालीका सबै स्थानीय तहहरुले टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरिसकेकाले सो घटनाका अभियोग लागेका व्यक्तिहरुको रिहाइ गर्न पहल गर्नुपर्ने लम्की चुहा नगरपालिकाकी मेयर सुशीला शाहीले बताइन् ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीले टीकापुर घटनाको निकासको लागि गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने बताए । सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिँदा थारुलगायत उत्पीडित समुदायमाथि अन्याय भएको उनको भनाइ थियो ।

नागरिक उन्मुक्ति पार्टीले आयोजित कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका मेयर केवल चौधरीले अधिकार प्राप्तीको राजनीतिक आन्दोलनमा राज्यले दमन गर्दा टीकापुर घटना घट्न पुगेको बताउँदै यहाँको विकासको लागि राज्यले टीकापुर घटना सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गरे । थरुहट नेता लक्ष्मण थारुले हालसम्म राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलनको रुपमा लिएको बताउँदै अब हुने चुनावलाई नै आन्दोलनको रुपमा लैजान आह्वान गरे ।

टीकापुर विद्रोहको जगमा नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै नेता थारुले भने, ‘सरकारले हालसम्म हाम्रो मुद्दाप्रति सकारात्मक छैन । तर आमजनताको एउटै माग छ, टीकापुर घटना राजनीतिक हो, राजनीतिक ढंगले सम्बोधन गर्नुको विकल्प छैन ।

जनताले आफ्नो मतमार्फत सरकारलाई सन्देश दिँदै आएका छन् । जसको परिणाम हो, नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह निर्वाचनमा कैलालीको चार पालिकाकामा जीत हासिल गर्नु । त्यसैले आउँदो चुनावलाई आन्दोलनको रुपमा लिनुपर्छ । सबैभन्दा सजिलो आन्दोलन नै निर्वाचन हो ।’

२०७२ मा संविधान लेखनको क्रममा यहाँ परस्पर विरोधी थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलन उत्कर्षमा थियो । यसैबीच भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा एक नाबालकसहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो ।

त्यसको भोलिपल्ट भदौ ८ गते प्रशासनले कफ्र्य जारीकै समयमा थारु समुदायका ८० भन्दा घर, पसल, एफएममा आगजनी गरिएको थियो । सोही भदौ ७ गतेको घटना अभियोगमा रेशम चौधरीलगायत ५२ जनामाथि मुद्दा लगाइएको हो ।