• बैशाख २६ २०८३, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा डा. ढकाल चयन, अरु कस्लाई के जिम्मेवारी दिए रविले ?

भाद्र ७ २०७९, मंगलवार

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उपसभापतिमा डोलप्रसाद अर्याल र महामन्त्रीमा डा. मुकुल ढकाललाई चयन गरेको छ ।

साथै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी चयन भएका छन् भने सहकोषाध्यक्षमा बसुमाया तामाङ चयन भएकी छन् ।

पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्यहरूमध्येबाट उनीहरूलाई पदाधिकारी चयन गरिएको थियो । यस्तै बैठकले केन्द्रीय सदस्य गीता रेग्मीको राजीनामा स्वीकृत गरेको छ । उक्त रिक्त ठाउँमा चितवनकी सविना विकलाई केन्द्रीय सदस्य नियुक्त गरिएको पार्टीले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको नेतृत्वमा चुनावी घोषणापत्र तयार समिति गठनसमेत भएको छ ।

केन्द्रीय सदस्य गणेश पराजुलीको नेतृत्वमा वार्ताटोली पनि गठन भएको छ । यो टोलीले हाल संसदमा रहेका दलबाहेक दलसँग तथा गैरदलीय रूपमा उम्मेदवारी घोषणा गरेका नागरिकसँग सहकार्य गर्ने प्रयोजनका लागि वार्ता गर्नेछ ।

साथै स्वतन्त्र पार्टीले र्यापिड एक्सन टिम पनि गठन गरेको छ । केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता सोविता गौतम संयोजक रहेको र्यापिड एक्सन टिमले जनताका समस्या समाधानमा सहयोग गर्ने र बेथितिविरूद्ध खबरदारी गर्ने उक्त पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।