काठमाडाैं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरेको आयोगले निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश गर्ने भएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी संघीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिन्ह समावेश गरेर मतपत्र छपाइ गरिने जानकारी दिए ।
आगामी निर्वाचनका लागि संघीयको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जनाइएको छ ।