काठमडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीप्रति लिएको गलत नीतिका कारण आगामी निर्वाचनको औचित्य समाप्त भएको बताएका छन् । आगामी मंसीरमा हुन भइरहेको संसदीय निर्वाचनमा जान आफूहरू तयार भइरहेका बेला सरकारले आफ्नो पार्टी सहभागी नहोस् भन्ने चाहेको उनको आरोप छ ।
शिवराज नगरपालिका–९ भगवानपुरस्थित उनको पार्टीले निर्माण गरेको उनको आवासीय भवनमा सञ्चारकर्मीह?सँग कुरा गर्दै सरकारसँग पार्टीले गरेको तीनबुँदे सहमति लागू नगर्ने, जेलमा रहेका नेता–कार्यकर्ता नछाड्ने र मुद्दाहरू खारेज नगरेर उल्टै सहमतिमा हस्ताक्षर गर्ने र नेतृत्वलाई नै पक्राउ पुर्जी जारी गर्नुले सरकार आफूहरूलाई चुनावमा सहभागी गराउन चाहँदैन वा हाम्रो सहभागिता ?चाउँदैन भन्ने स्पष्ट देखाएको विप्लवको आरोप रहेको छ ।
निर्वाचन आयोगमा पार्टी दर्ता गरेर चुनावमा जाने नीति नभए पनि संयुक्त राजनीतिक पार्टीका तर्फबाट मोर्चा दर्ता गरेर जान सोच्न सक्ने या पार्टी आफै मोर्चा दर्ता गरेर चुनावमा जान सक्ने विषयमा पार्टीभित्र छलफल चल्दै गरेको अवस्थामा सरकार आफूहरूमाथि खनिएको उनको आरोप छ ।
‘राज्यले समातेको गलत बाटोले स्वाभाविक ढंगले चुनावको औचित्य समाप्त गरेको छ,’ उनले भने, ‘गत स्थानीय तह निर्वाचनमा पनि पार्टी निर्वाचन आयोगमा दर्ता भएर चुनाव चिह्न लिएर गएको होइन । हाम्रो आधार र प्रभाव क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई पठाउने र सहयोग गर्ने नीति हामीले लिएका हौं ।’
स्थानीय तहको निर्वाचनमा जनताले आफ्नै तरिकाले साथ दिएको र आफ्नो पार्टी कमजोर नरहेको पुष्टि भएको उनले बताए । आफूहरूप्रति जारी भएको पक्राउ पुर्जी सरकारको गैरजिम्मेवारीपूर्ण व्यवहार भएको उनले ठोकुवा गरे ।