• बैशाख २६ २०८३, शनिबार

काँग्रेस नेता तथा समाजवादी चिन्तक प्रदिप गिरीको निधनमा कसले के भने ?

भाद्र ५ २०७९, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदिप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

गिरिको शनिबार राति ९:३० बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो। घाँटीको क्यान्सरबाट पीडित ७५ वर्षीय गिरि चार सातायता मेडिसिटी अस्पतालमा उपचाररत् थिए।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले नेता गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको भन्दै श्रद्धासुमन व्यक्त गरेकी हुन्।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ,’ उनले लेखेकी छन्, ‘उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदीप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गिरीको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु, उनले लेखका छन् ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

नेता गिरिको निधनप्रति नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्। चिन्तनशील राजनीतिकर्मीको निधनबाट मर्माहत भएको उनले बताएका छन्।

‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु,’ उनले लेखेका छन्, ‘उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

नेता गिरिको निधनप्रति नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनले लेखेका छन्,’नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु।’
यस्तै, नेकपा एमालेका नेता डा. भीम रावलले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपाली कांग्रेसका नेता, बौद्धिक व्यक्तित्व आदरणीय दाजु प्रदीप गिरिको निधनमा दुःख लागेको छ,’ उनले लेखेका छन्, ‘उहाँप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।”अलविदा प्रदीप गिरि दाइ! तपाईंको अभाव सधैं खट्किरहने छ,’ एमाले नेता प्रदीप ज्ञवालीले लेखेका छन्।

यसैगरी, राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेता गिरिप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘हार्दिक श्रद्धाञ्जली! एक असल नेताको रूपमा स्व. प्रदीप गिरीको सम्झना सदैव भइरहने छ। शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।’

नेकपा एमालेका नेता घनश्याम भुषालले कांग्रेसका नेता प्रदीप गिरिलाई सम्झिरहने बताएका छन्। प्रदीप गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भुषालले लेखेका छन्, ‘हाम्रो समयको अविश्रान्त समाजवादी कमरेड प्रदीप गिरि, हाम्रो यात्राभरि तपाईँलाई सम्झिरहने छौँ।’

‘उनले विचार नमिल्नेप्रति कहिल्यै घृणाभाव व्यक्त गरेनन्, दृढ विश्वास अभिव्यक्त गर्न कहिल्यै छोडेनन्, तथ्य बदलिँदा आफू बदलिए र त्यसलाई वैचारिक ‘विचलन’ भनेनन्,’ नेता रवीन्द्र मिश्रले लेखेका छन्, ‘समाजवादको अभ्यास वैचारिक र परोपकारी दुवै रूपमा गरे। ज्ञान/दर्शन/स्मरणशक्ति र प्रखर अभिव्यक्तिका पुञ्ज थिए। बैकुण्ठ बास होस्!’