काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ ।
फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे आगामी १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए । फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीबारबाट साविक बमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो।
सिसिडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन।
लम्सालका अनुसार अहिले पनि काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहर व्यवस्थापन गर्नुपर्ने छ। विना अवरोध नियमित फोहर व्यवस्थापन गर्न सकेको अवस्थामा सबै फोहर व्यवस्थापनमा सो समय लाग्नेछ।
अहिले उपत्यकाको विभिन्न स्थानमा अस्तव्यस्त रुपमा रहेको फोहरको विसर्जन हुने वित्तिकै त्यसपछि बञ्चरेडाँडामा लगिने सबै फोहर पूर्ण रुपमा वर्गीकरण भएर मात्रै लाने जनाइएको छ। घरबाट फोहर उठाउँदा स्रोतमै वर्गीकरण गर्ने विषयलाई महत्वका साथ हेर्ने र तोकिएको बारअनुसार फोहरको वर्गीकरण नभए यसअघि भनेझै कारबाही प्रक्रिया अघि बढाइने कामपाले चेतावनी दिएको छ।