काठमाडौँ। नेपाली काँग्रेसकी सांसद पार्वती डिसी चौधरीले आफ्नो अन्तरआत्माले नागरिकता विधेयक पास गर्न नचाहे पनि पार्टीमा आवद्ध भएकाले बाध्यतामा रहेको बताएकी छिन् । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि बिहीबार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा सहभागी हुँदै उनले विधेयक फिर्ता गरेर राष्ट्रपतिले सहि काम गरेको बताइन् ।
नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाउनुमा केही कुरा सच्चिएर आओस् र केही कुरामा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको हुनसक्ने बताउँदै राष्ट्रपतिमाथि धेरै खालका टिका टिप्पणी गर्नु उचित नभएको बताइन् । उनले भनिन्– ‘हामीले हाम्रै राष्ट्रपतिको सम्मान गर्न सक्दैनौँ भने अरु कसको सम्मान गर्न सक्छौँ र ? यो नागरिकता विधेयक जसरी आएको छ, एउटा दलमा रहेको कारणले म यसको समर्थन गरुँला तर व्यक्तिगत मेरो आत्माले यो कुरा ठीक छैन भन्ने कुरा राख्न चाहन्छु ।’
सांसद चौधरीले चुनावको समय किन नागरिकता विधेयक पास गर्न लागेको भनेर धेरै नागरिकहरु आन्दोलित भइरहेको बताउँदै चार पाँच महिनापछि आउने नयाँ संसदलाई जिम्मा दिन आग्रह गरिन् ।
यस्तो छ सांसद चौधरीको भनाई
नागरिकता ऐन संसोधन गर्न ७ वर्ष ढिला भयो भनिएको छ, यो कसको कारणले ढिला भयो त ? आज ७ लाख मानिसले नागरिकता पाइरहेका छैनन्, जन्म सिद्धको आधारमा जस जसका आमाबुवा नेपालको नागरिक बनेका छन् , उनका सन्तानले नागरिकता पाउनुपर्छ ७ बर्षसम्म ढिलाई किन भयो ? कसको कारणले भयो ? तिनीहरुलाई त्यसको क्षतिपूर्ति दिने कि नदिने ?
नेपालीसँग बिहे गरेर आउने महिलालाई आउने वित्तिकै नागरिकता दिने भन्ने जुन कुरा छ, त्यो चाँही सोच्नै पर्छ । किनभने हाम्रो जस्तो सानो मुलुक दिँदै गयौँ भने के हुन्छ । जो आएपनि दिँदै गए हुन्छ रे ? किन नदिने रे ? त्यसो भए विज्ञापन खोलिदिउँ न आउने जति सबैले नागरिकता पाउँन । त्यसकारण विज्ञापन खोलिदिउँ सबैले आ–आफ्नो भर्छन सबैले पाउन् ।
त्यसकारण यो सानो मुलुकभन्दा ठूलो मेरो पार्टीपनि हैन, म पनि हैन । त्यसकारण यहाँ हामी धेरै सांसदलाई लागेको छ, तर पार्टीको बन्धनले उनिहरुले बोल्न सकिरहेका छैनन, पार्टीभन्दा माथि उठेर बोल्नुस्, मुलुकका लागि बोल्नुस् भन्न चाहन्छु । राष्ट्रपतिले विधेयक फिर्ता पठाएका ठीक छ, उनको सम्मान गर्नुपर्छ । यसरी अपमान गर्यौं भने एक आपसमा लडाईँ गर्यौँ भने विदेशीको चलखेल त भइहाल्छ । विधेयक पास गर्ने बेलामा हुने हुन्छ र हुन्नमा त एउटा पार्टीको सांसद भएकोले हुन्छ भन्नै पर्छ तर मेरो भावना त्यस्तो छैन ।