काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई आज चार बुँदे निर्देशन दिएको छ ।
आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विशेष कारणवश कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध हुने वा गर्ने स्थिति सिर्जना हुन गएमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ५० बमोजिम आवश्यक कारबाही हुने व्यहोराको जानकारी सबै सुरक्षा निकायलाई अग्रिमरूपमा दिन, सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने अवस्था भएमा सुरक्षाको थप व्यवस्थाका लागि सेवा निवृत्त तालिम प्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय सेवादल र स्थानीय तहका नगर प्रहरी तथा स्थानीय तह निर्वाचन, २०७९ मा भर्ना गरिएका तालिम प्राप्त जनशक्तिलाई निजहरू सेवा निवृत्त हुँदाका तत्तत् पदअनुसार नियुक्ति दिई परिचालन गरी निर्वाचन सुरक्षा व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।