काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायाधीश, वकिल, कानुन व्यवसायी सबैमा सकारात्मक सोच र उच्च नैतिकता हुन आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले मुलुकमा ऐन, नियम, कानुन र अदालतको सङ्ख्या पर्याप्त भएर मात्र जनताले शीघ्र न्याय पाउने भन्ने कुराको ग्यारेन्टी गर्न नसकिने बताएका हुन् ।
मुलुकी संहिता दिवस, २०७९ को अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकी संहिताहरूको निष्पक्ष र प्रभावकारी कार्यान्वयन गरी आमजनतालाई सरल र छिटो छरितो रूपमा न्याय प्रदान गर्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए ।
अदालतलाई सबै किसिमका दबाब, प्रभाव र विकृतिबाट मुक्त राख्दै स्वतन्त्ररूपमा न्याय सम्पादन गर्नसक्ने वातावरण निर्माण गर्न सबैको सहयोग आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले नेपाल सरकारको लामो समयदेखिको अथक प्रयास र सबैको सहयोगबाट ल्याइएका यी संहिताहरू कार्यान्वयनमा आएको चार वर्ष पूरा भई पाँचौ वर्षमा लागेको बताउदै न्याय सम्पादन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन यी संहिताहरूले उल्लेखनीय योगदान गरेको बताए ।