काठमाडौं । २०७४ को निर्वाचनमा देशकै ठूलो दल बनेको नेकपा (एमाले)लाई अगामी निर्वाचनमा तेस्रो बन्ने त्रासले सताइरहेको छ । संघ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धन दलहरूको चपेटामा परेको प्रमुखप्र तिपक्षी दल एमालेलाई तेस्रो बन्ने त्रास कायमै छ । किनकि बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सोचेजस्तो मत परिणाम हासिल गर्न नसक्नुले एमाले त्रसित छ ।
त्रासलाई कम गर्न र आगामी निर्वाचनमा सके पहिलो नसके दोस्रो बन्ने हैसियतमा एमाले चुनावी मैदानमा उत्रिने भएको छ । यसका लागि सत्ता गठबन्धन बाहिरका सानादलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका अन्य साना दलसँग उसले चुनावी तालमेल गर्ने भएको हो ।
यी पार्टीका नेताहरू आगामी निर्वाचनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट साँझ–बिहान धाउन थालेका छन् । अध्यक्ष ओली सत्ताबाट बाहिरिएसँगै बालकोट सरेलगत्तै बाक्लै चहलपहल हुने गथ्र्यो । तर, केही समय यता चहलपहल सेलाए पनि हालै सम्पन्न स्थानीय निर्वाचन यता फेरी भेटघाट बाक्लिदै गएको छ ।
आगामी मंसिर ४ मा हुने निर्वाचन घोषणापछि फेरि चहलपहल र भेटघाट बढ्न थालेको छ । हिजो आज ओली निवास बाहिर उनलाई भेट्न आउनेहरूको निजी र सरकारी गाडीको लावालस्कर देखिन्छ ।
हिजो (सोमबार) अध्यक्ष् ाओलीसँग बालकोटमै आएर जनताप्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भेट गरेका छन् । अध्यक्ष ओलीसँगको भेटपछि त्रिपाठीले पत्रकारसँग अन्तरक्रिया गर्ने सन्दर्भमा विविध विषयमा कुरा भएको बताए । ‘भेट निर्वाचन केन्द्रित नै हो तर प्रारम्भिक चरणको कुरा भएको छ अरु कुरा हुँदै जाला’ –उनको भनाइ थियो ।
२०७४ को निर्वाचनको मोडलमा नभई एमालेसँग चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल भएको त्रिपाठीले बताए । त्रिपाठी यसअघि एमालेको सूर्य चिह्न लिएर निर्वाचनमा भिडेका थिए । उनले अहिले आफ्नो पार्टी भएकाले दुई पार्टीबीच के कसरी गठबन्धन गर्न सकिन्छ भन्ने बारेमा सामान्य कुराकानी भएको बताए ।
त्रिपाठी गत निर्वाचनमा सूर्य चिह्नमा नवलपरासी क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । यसअघि एमाले अध्यक्ष ओलीसँग नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भेट गरेका थिए । ओली निवास बालकोटमै भएको भेटमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको थियो ।
गएको स्थानीय निर्वाचनमा एमाले र परिवार दलबीच चुनावी सहकार्य भएको थियो । परिवार दलकामहामन्त्री सन्तोषकुमार पौडेलका अनुसार भेटमा स्थानीय निर्वाचनको समीक्षा हुनुको साथै अगामी निर्वाचनमा पनि दुई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको छ ।
गत शुक्रबार मात्रै एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको थियो । भेटवार्तामा राष्ट्रिय राजनीतिका समसामयिक विषय र चुनावी तालमेलबारे छलफल भएको बताइएको छ ।
ओली र लिङदेनबीच स्थानीय निकायको निर्वाचनपछि दोस्रोपटक भेटवार्ता भएको स्रोतले बतायो । राप्रपा महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले अध्यक्ष ओलीलाई भेटेर निर्वाचनमा तालमेल गर्ने वातावरण बनाएको दुई दिनपछि अध्यक्ष लिङदेनले ओलीलाई भेटेका हुन् । २०७४ सालको संसदीय निर्वाचनमा एमाले र राप्रपाले एक–अर्कालाई सघाएका थिए ।
एमाले नेताहरूले देशव्यापी रूपमा कुनै पार्टीसँग गठबन्धन नगर्ने तर स्थानीय आवश्यकता अनुसार तालमेल हुन सक्ने बताइरहेका छन् । सत्ताधारी गठबन्धन बनेको भन्दै साना दलले संसदमा प्रतिपक्षी दलका अध्यक्ष ओलीलाई विपक्षीले पनि मिलेर आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर जानुपर्छ भन्ने तर्क गर्दै आएका छन् । त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि ओलीसँग चुनावी तालमेलका संघन छलफलमा जुटेको स्रोतले बतायो ।