• जेष्ठ २ २०८३, शनिबार

विदेशी मुद्रा अपचलनको अभियोगमा भारतीय र पाकिस्तानी नागरिकविरुद्ध मुद्दा

श्रावण ३० २०७९, सोमबार

काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय र पाकिस्तानी नागरिकविरुद्ध छुट्टाछुट्टै रुपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विभागले विदेशी मुद्रा अपचलनमा संलग्न रहेको भन्दै भारत वाराणसीका चाँदबाबु मोहम्मद शरिफ, पाकिस्तान कराचीका जाबेद अस्लाम खानविरुद्ध मुद्दा दायर गरेको हो ।

चाँदबाबुको साथबाट भारतीय २ हजार दरको ३५ वटा नोट बराबर हुन आउने भारु र जावेदबाट अमेरिकी डलरसहितका विदेशी मुद्रा बरामद भएको थियो ।

त्यस्तै पाकिस्तानी नागरिक हाफिज एटिक उर रहमानविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनको साथबाट गत माघ १४ मा विमानस्थलमा साउदी रियाल ५ सय दरको ९४ थान, सय दरको १, ५० दरको १ गरी जम्मा ४७ हजार १५० रियाल तथा यूएईको दिराम २ सय दरको १, सय बैसा दरको ३ गरी जम्मा ओमानी रियाल ५.५ र ३०० बैसा र भारु सय दरको १ थान लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएकोमा मुद्दा दायर गरिएको हो।

जावेदको हकमा ५० लाख १६ हजार ६ सय ८७ र चाँदबाबुको हकमा १ लाख १२ हजार १०५ रुपैयाँ बिगो कायम गरी जफत गर्न मागदाबी गरिएको छ। हाफिजविरुद्ध ९ लाख २६ हजार ४ सय ९१ रुपैयाँ जफत गर्न मागदाबी गरिएको छ।