काठमाडौं । शुक्रबार राष्ट्रपति भवन शीतलनिवास अगाडि शुक्रबार आत्मदाह गर्न खोज्ने २० वर्षीया निहारिका राजपुतलाई काठमाडौं महानगरका मेयर बालेन साहले अस्पतालमा गएर भेट गरेका छन् ।
निहारिकालाई भेटेर उनले सान्त्वना दिएका छन् । बालेनले कानूनी राज्यमा महिलाले यस्तो अन्याय भोग्ने अवस्था आउनु गलत भएको भनेका छन् ।
बालेनले आफ्नो र पीडित निहारिकाको तस्वीर साझा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,‘आफ्नो बच्चाको डिएनए टेष्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो त अति हो । अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’
राष्ट्रपति भवन अगाडी आत्मदाह गर्न तयार भएकी निहारिकालाई प्रहरीले उद्धार गरेपछि उपचारका लागि हिजो नै त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
आफू बलात्कृत भएको तर प्रशासनले सहयोग नगरेको गुनासो गर्दै उनले आत्मदाह गर्ने भन्दै शरीरमा पेट्रोलियम पदार्थ खन्याएकी थिइन् । उनले आफ्नो बच्चाको डीएनए जाँचको माग गर्दै आएकी छन् ।
जनकपुरका शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेर ब्ल्याकमेल गरेको निहारिकाको आरोप छ ।
जिल्ला अदालत धनुषाले श्रेष्ठलाई सफाई दिएको थियो । उच्च अदालत जनकपुरमा भने निहारिकाको मुद्दा विचाराधीन छ ।