• बैशाख २६ २०८३, शनिबार

स्वतन्त्र उम्मेदवारहरु एउटै चुनाव चिन्ह ‘लौरो’ लिएर जाने घोषणा

श्रावण २७ २०७९, शुक्रबार

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा स्वतन्त्र उम्मेदवारहरु एउटै चुनाव चिन्ह लिएर लड्ने घोषणा गरेका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बृहत स्वतन्त्र राष्ट्रिय अभियानले आगामी चुनावमा साझा चुनाव चिन्ह ‘लौरो’ लिएर जाने घोषणा गरेको हो ।

नेपाल नागरिक स्वतन्त्र सञ्जालका अध्यक्ष दिनेश सुवेदीले सो पत्रकार सम्मेलनमा बोल्दै आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा स्वतन्त्र, परिवर्तन चाहने शक्ति र दलहरु एउटै साझा चिन्ह लिएर जाने निर्णय गरिएको बताएका हुन् ।

उनले भने,‘आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा हामी स्वतन्त्र व्यक्तिहरु, परिवर्तन चाहानेहरु शक्तिहरु र राजनीतिक दलहरु एउटै साझा चिन्ह लिएर जाने भएका छौं, सबै शक्तिहरु एक भएर एउटै उद्देश्य लिएर साझा एजेण्डा, नीति, राजनीतिक दर्शन तयार पारेर आम नागरिकको अपनत्व लिनेगरि लौरो चिन्ह लिएर चुनावमा जानेछौं ।’

यसैगरी, उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले ‘लौरो’ देखेर डराउनेलाई चोर र पशुको संज्ञा दिए । ‘वृद्धवृद्धालाई टेक्ने भ्रष्टाचारीलाई सेक्ने’ भनाईले जनजन प्रभावित भएको उनले दाबी गरे ।