• बैशाख २६ २०८३, शनिबार

एमाले बढार्न प्रचण्ड, नेपाल र बाबुरामको आन्तरिक गृहकार्य, एउटै चिन्ह लिएर चुनावमा भिड्ने रणनीति

श्रावण २७ २०७९, शुक्रबार

काठमाडौं । मंसिर ४ मा हुने संघ र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) बढार्न चार कम्युनिस्ट पार्टी एक ढिक्का हुने भएका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल समाजवादी पार्टी एक ढिक्का हुने भएका हुन् ।

चार कम्युनिस्ट पार्टीहरू एमालेलाई बढार्न चुनावी मोर्चाबन्दी गर्ने भएका छन् । स्थानीय तह निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेलाई संघ र प्रदेशसभाको निर्वाचनमा बढार्न उनीहरूले चुनावी मोर्चाबन्दी गर्ने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजमोका अध्यक्ष चित्रबहादुर केसी र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चुनावी मोर्चाबन्दी गर्न आन्तरिक गृहकार्य थालेका छन् ।

निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेसँगै उनीहरूको प्रत्यक्ष वा परोक्ष रूपमा संवाद भइरहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए । संघ र प्रदेशको निर्वाचनमा एमाले बाहेक चार कम्युनिस्ट पार्टी संयुक्त चुनावी मोचावन्दीमा जानुपर्ने धारणा राखेको महरा बताउँछन् । त्यसका लागि संवाद जारी रहेको उनी बताउँछन् ।

‘विशेष गरी नेपाल र भट्टराईसँग संवाद जारी रहेको छ, भट्टराईजीलाई पार्टीमा फर्किनुस् भन्दा मान्नु भएको छैन । उहाँले नयाँ पार्टी गठन गरिसक्नु भएको छ । त्यसैले उहाँको पार्टीसहित चार पार्टीले संयुक्त चुनावी मोर्चाबन्दी गर्ने कुरामा छलफल जारी छ । तर, निष्कर्ष निस्किसकेको छैन भन्छन्,’ –प्रवक्ता महरा ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग प्रचण्डको संवाद हुने गरेको माओवादी केन्द्रका नेताहरू बताउँछन् । उनीहरू भन्छन्– ‘उहाँहरू (प्रचण्ड–नेपाल)बीच प्रायः संवाद जारी नै रहन्छ । आगामी चुनावी रणनीतिका विषयमा विशेष संवाद हुने गरेको छ । यद्यपि आजसम्म कुनै निर्णय भईसकेको छैन । तर, चुनावी मोर्चाबन्दीको हकमा प्रचण्ड र नेपालबीच दुईमत छैन ।’

त्यस्तै अध्यक्ष चित्रबहादुर केसीले हालसम्म प्रचण्ड, नेपाल र बाबुरामसँग औपचारिक भेटवार्ता नगरेको राजमोका केन्द्रीय सदस्य हरिबहादुर थापा बताउँछन् । उनी भन्छन्– ‘हामी सत्ता गठबन्धनमै छौँ र चुनावी मोर्चाबन्दी गर्ने कुरामा हाम्रो भिन्न मत छैन । तर हाम्रो अध्यक्षसँग माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमो र समाजवादी पार्टीका कुनै पनि नेताले संवाद र छलफल गर्नु भएको छैन । तथापि उहाँहरूले चुनावी मोर्चाबन्दी गरेमा हामी पनि मोर्चामा सहभागी हुने कुरा निश्चित छ ।’

त्यसैगरी बाबुराम सत्ता गठबन्धनमा आफ्नो भूमिकाको खोजीमा लागेका छन् । नयाँ पार्टी गठन गरेसँगै उनले सिट बाँडफाँटमा सम्मानजनक स्थान पाउन दौडधुपमा लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टीलाई पनि गठबन्धनमा समावेश गरेर अघि बढ्न आग्रह गरेका बाबुरामले हिजो (बिहीबार) माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनावी योजनाको विषयमा भेटवार्ता गरेका छन् ।

ललितपुरको हात्तीवनमा भएको भेटमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग सत्ता गठबन्धनमा आफ्नो पार्टीलाई पनि समावेश गराउन भूमिका खेल्नको लागि आग्रह गरेका थिए । भेटको क्रममा प्रचण्डले बाबुरामलाई पुनः पार्टीमै फर्किन आग्रह गरेको तर उनले पार्टीमा फर्किने अवस्था नरहेकाले गठबन्धनमा समावेश हुन चाहेको श्रेष्ठले बताए ।

प्रचण्डको सचिवालयका एक सदस्यले अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै भने– ‘संसद् विघटन भएपछिको प्रतिगमन विरोधी आन्दोलनमा हामी एकसाथ लागेका छौँ । नयाँ पार्टी र नयाँ परिस्थिति बनेपछि अहिले फरक ठाउँमा छु ।’ बाबुरामले पाँचदलीय गठबन्धनमा समेट्न भूमिका खेलिदिन आग्रह गर्दै आफू पनि गठबन्धनको एक हिस्सेदार रहेको स्मरण गराएका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले भने पाँच दलीय गठबन्धनकाबीच मात्र चुनावी तालमेल हुनुपर्ने अडान राख्दै आएका छन् । भेटका क्रममा बाबुरामले माओवादीका नेताहरूलाई वाम समाजवादी मोर्चा बनाउन प्रस्ताव गरेका छन् । मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छन् ।

कांग्रेससँगको सत्ता गठबन्धन के होला ?

नेपाली कांग्रेस सहित पाँच दलीय सत्ता गठबन्धन हालसम्म कायम छ । तर, यी चार कम्युनिस्ट पार्टीले संयुक्त चुनावी मोर्चाबन्दी गरे कांग्रेसको साथ छोड्ने निश्चित छ । तथापि अहिले उनीहरू आन्तरिक गृहकार्यमा रहेकोले यसै भन्न सक्ने अवस्था भने छैन ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले असन्तुष्टि जनाउँदै आएका छन् । त्यस्तै आगामी संघ र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले पुनः धोका दिने त होइन भन्दै उनीहरूले आशंका गर्दै आएका छन् ।

आगामी निर्वाचनमा लागि सिट बाँडफाँडमा पनि कांग्रेसले झेली गर्न थालेको भन्दै विरोध शुरु भएको छ । तर, अब उप्रान्त के गर्ने भन्ने विषयमा अझैँ निष्कर्ष ननिसकेको एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।