• बैशाख २६ २०८३, शनिबार

गाउँपालिका अध्यक्ष जित्न १० करोड खर्च गर्नेको सूची दिन दाहाललाई आयोगले काट्यो पत्र

श्रावण २७ २०७९, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गाउँपालिका अध्यक्ष जित्न १० करोड खर्च गर्ने उमेदवारको सूचना दिन पत्र काटेको छ ।

यही साउन ९ गते नरबहादुर कर्मचार्य स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले गाउँपालिका अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको जानकारी आफूलाई आएको अभिव्यक्ति दिएका थिए ।

आयोगले सोही अभिव्यक्ति दिएको भोलिपल्टै अर्थात् साउन १० गते पत्र काटेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षले तीन लाख खर्च गर्न पाउने व्यवस्था रहेको सम्झाउँदै १० करोड खर्च गर्ने उमेदवारको सूचना दिए कारबाही गर्ने बताएको छ ।

“आयोगबाट तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा निजहरुले गरेको खर्र्चको विवरण आयोगले तोकेको कार्यालय समक्ष नबुझाउने उमेदवारमाथि कारबाही प्रकृया सुरु गरिसकेको अवस्था रहेको हुँदा सञ्चार माध्यमहरुमा प्रकाशित प्रसारित भएको तपाईंको अभिव्यक्ति बमोजिम तपाईंले पाएको सूचना अनुसारको गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च गर्ने उमेदवारबारे सूचनाको साथै आयोगले तोकेको खर्चको हदभन्दा बढी खर्च गर्ने उमेदवार बारेको वस्तुगत सूचना आयोगमा उपलब्ध गराई सहयोग गरिदिन हुन अनुरोध गरिन्छ,” आयोगका कानुन अधिकृत मोहनराज जोशीले काटेको पत्रमा उल्लेख छ ।

साउन १० गते नै पत्र पठाए पनि प्रचण्डबाट त्यसको जवाफ भने नआएको आयोग स्रोतले जनाएको छ । “माओवादीको केन्द्रीय कार्यालयमा पत्र दिँदा नबुझेपछि आयोगले हुलाकमार्फत् पठाएको हो । हालसम्म त्यसको जवाफ आएको छैन । सायद, आउला,” आयोग स्रोतले भन्यो ।