• बैशाख २६ २०८३, शनिबार

६ दलले गरे देशघाती सम्झौता र भ्रष्टाचार विरुद्ध काठमाडौंमा विरोध सभा

श्रावण २६ २०७९, बिहीबार

काठमाडौं । नागरिकता विधेयक अमेरिकी एमसीसी, एसपीपी र असंलग्न परराष्ट्र नीतिको विपरित नेपाली सेनाको भूमिका र भ्रष्टाचार तथा महंगी र मलको अभावको विरूद्वमा काठमाडौंमा आज एक विरोध सभा गरिएको छ ।

६ वटा कम्युनिस्ट पार्टीहरुको संयुक्त आयोजनामा शान्ति बाटीकामा सो विरोध सभाको आयोजना गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले नेपाली जनता र नेपाल अहिले धेरै ठूलो संकटबाट गुज्रिएको भन्दै एमसीसी, एसपीपी लगायतका राष्ट्रघाती सम्झौता सबै खारेज हुनु पर्नेमा जोड दिए । गजुरेलले सरकारले नेपाली जनताको कुरा सुन्दैन भने देश श्रीलंका हुने चेतावनी पनि दिए ।

सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता बाबुराम गजमेरले यो समय खेतिकिसानी गर्ने समय भएपनि जनता राष्ट्रघाति सम्झौताको विरुद्धको आन्दोलनमा सहभागी भइरहेको बताए ।

उनले नेपाली जनतालाई अझै लोकतन्त्र आयको छैन भन्दै मुट्ठीभरलाई मात्रै लोकतन्त्र आएकोले हालको संसदीय व्यवस्था बिचौलियको व्यवस्था भएको बताए । उनले सरकारले नेपाली नागरिकताको नाममा भारतीयलाई नागरिकता बेचेको दावी गरे ।

उनले आफूहरुले नेपाली जनताले पाउने नागरिकताको विरोध गरेको नभई विदेशीलाई नेपाली नागरिकता वितरण गर्न लागिएकोले यस्तो देशघाति कामको विरोध गरेको स्पष्ट पारे ।

कार्यक्रमका अर्का वक्ता नेकपा मसालका ओमबहादुरले राष्ट्रघाति नागरिकता विधेयक खारेज गर्नुपर्ने माग राखे । विरोध सभामा बोल्दै उनले नेपाल इतिहासकै सबै भन्दा कमजोर अवस्थामा आइपुगेको बताए ।

उनले एमसीसी, एसपीपी र नागरिकता विधेयक आफूहरुले विरोध गर्दागर्दै पनि सरकारले पास गरेकोमा कडा आपत्ति जनाएको सन्ध्या मगरले खबर पठाएकी छिन् ।