काठमाडौं । चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् ।
रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको त्यहाँका भन्सार प्रमुखहरुले बताए ।केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा बुधबार चिनियाँहरुले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले बताए ।
‘औपचारिक कुनै जानकारी छैन, कोभिड-१९ बढेको मात्रै भनेको छन् । बुधबारदेखि नाका बन्द भएको छ,’ गौतमले भने, ‘सोमबार / मंगलबारसम्म नाका भएर २/ ३ वटा मालबहाक सवारी साधन आए पनि त्यो अहिले ठप्प छ ।’
तिब्बतमा कोरोना संक्रमण बढेका कारण ल्हासाबाट खासातर्फ कुनै पनि सवारी साधन नपठाइएको जानकारी प्राप्त भएको उनले बताए । तर, यसबारे चिनियाँहरुले कुनै पनि जानकारी नाकामा नगराएको उनको भनाइ छ ।
यता रसुवाको रसुवागढी नाका पनि बन्द भएको रसुवागढी भन्सार प्रशासक डा. रामप्रसाद मैनालीले बताए । नाका भएर शनिबारदेखि मालसामान आयात नभएको उनको भनाइ छ । ‘तिब्बततर्फ लकडाउन भएको अपुष्ट जानकारी आएको छ । शनिबारदेखि रसुवागढी नाका ठप्प छ,’ मैनालीले भने , ‘तर हामीलाई कुनै पनि औपचारिक जानकारी दिइएको छैन ।’
तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले त्यस क्षेत्रमा झण्डै लकडाउनकै अवस्था रहेको मौखिक जानकारी गराएको मैनालीले बताए । तर, नाका बन्दको अग्रिम जानकारी नदिई एक्कासी मालसामानको ढुवानी रोकिएको उनको भनाइ छ ।
नाका बन्द भएपछि व्यापारीहरु पनि सम्पर्कमा नआएको र चीनतर्फ के-कस्ता मालसामान बाटोमा रोकिएका छन् भन्ने यकिन हुन नसकेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । यता तातोपानीको खासातर्फ भने कुनै मालवस्तु नरहेको त्यहाँका भन्सार प्रमुख गौतमले बताए ।
कोरोना बढेपछि पहिला चरणमा त्यहाँका जिल्लाहरुले ८ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको अपुष्ट जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘मलाई आएको अनौपचारिक जानकारीमा कोभिड-१९ ले गर्दा नाका बन्द भएको भन्ने छ, थप हामी बुझ्दैछौं’ प्रजिअ जैसीले भने ।