• फाल्गुन २६ २०८२, मंगलवार

‘स्टार ट्रेक’की अभिनेत्री निसेल्ले निकोल्सको निधन

श्रावण १६ २०७९, सोमबार

काठमाडौं । सन् १९६० को दशकमा चर्चित रहेको साइन्स फिक्सन टेलिभिजन सिरिज ‘स्टार ट्रेक’की अभिनेत्री निसेल्ले निकोल्सको निधन भएको छ।

८९ वर्षकी उनको शनिबार राति निधन भएको उनका छोरा काइल जोन्सनले बताएको बीबीसीले उल्लेख गरेको छ।

निकोल्स अमेरिकी अधिकारीको रुपमा अभिनय गर्ने पहिलो काला जतीकी महिला थिइन्। लेफ्टिनेन्ट न्योटा उहुराको भूमिकामा उक्त टेलिभिजन सिरिजमा काम गरेकी उनी यस्तो शीर्ष भूमिकामा काम गर्ने पहिलो काला जातीकी अभिनेत्री बनेकी थिइन्।

सिरिजमा अन्तरिक्ष यात्रीको रुपमा अभिनय गरेकी उनलाई पछि अन्तरिक्षसम्बन्धी संस्था नासाले नै अनुबन्धित गरेको थियो। नासाले अन्य महिलाहरुले पनि अन्तरिक्षसम्बन्धी अनुसन्धान तथा अन्तरिक्ष यात्रामा रुचि राखुन् भनेर काममा लिएको थियो।

निकोल्सको निधनको कारण हृदयघात भएको बताइएको छ। न्युयोर्क टायम्ससँग उनका छोराले बताएअनुसार अचानक मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएकी उनको निधन भएको हो। यसैबीच निकोल्सको निधनमा नासाले ट्विट गर्दै दुःख व्यक्त गरेको छ।

नासाले आधिकारित ट्विटरबाट लेखेको छ, ‘उनी के कुरा सम्भव छ भन्ने कुराको पर्याय हुन्। उनले हामीसँग मिलेर काम गरेकी थिइन्, जसबाट केही अल्पसंख्यक तथा महिलाहरुलाई हामीले अन्तरिक्ष यात्री बनाएका थियौं।’