• आश्विन २७ २०८३, मंगलवार

ओमानको खाडीमा आइतबार भारतीय चालक दल सवार तेल ट्यांकरमा ड्रोन हमला

आश्विन २६ २०८३, सोमबार

काठमाडौं । ओमानको सोहार तट नजिकै आइतबार भारतीय चालक दल सवार एक तेल ट्यांकरमा ड्रोन आक्रमण भएको छ।

‘एमटी पेट्रो डल्फिन’ नामक उक्त भारतीय ट्यांकरमा ११ जना सवार थिए । आक्रमणमा परी दुई जना नाविक बेपत्ता भएका छन् भने नौ जनाको सकुशल उद्धार गरिएको छ।
आक्रमणपछि समुद्री क्षेत्रमा खटिएका स्थानीय सुरक्षा निकाय तथा ओमानी तटरक्षक बलले द्रुत गतिमा उद्धार कार्य सञ्चालन गरी नौ जना नाविकलाई सुरक्षित स्थानमा पुर्‍याएका थिए। बेपत्ता रहेका बाँकी दुई जना नाविकको खोजी कार्य अझै तीव्र रूपमा जारी राखिएको छ।
भारतीय केन्द्रीय जलमार्ग तथा जहाज मन्त्री सर्वानन्द सोनोवालले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै बेपत्ता नागरिकहरूको स्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
‘अक्टोबर ११ मा सोहार एन्करेजमा भारतीय ट्याङ्कर एमटी पेट्रो डल्फिनमा ड्रोन आक्रमण भएको छ। जहाजमा सवार ११ जना भारतीय नाविकमध्ये नौ जनाको सुरक्षित उद्धार भइसकेको छ भने दुई जना अझै बेपत्ता छन्,’ मन्त्री सोनोवालले भनेका छन्, ‘स्थानीय कोस्ट गार्डद्वारा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।’

मन्त्री सोनोवालका अनुसार बेपत्ता नाविकहरूलाई शीघ्र र सुरक्षित फेला पार्नका लागि भारत सरकारले ओमानी अधिकारीहरू तथा सम्बन्धित कूटनीतिक निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ।

उक्त ट्यांकरमा कसले र कुन मनसायले ड्रोन आक्रमण गरेको हो भन्नेबारे अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन। क्षेत्रमा बढ्दो तनावका बीच भएको यस घटनालाई लिएर स्थानीय तथा अन्तर्राष्ट्रिय सुरक्षा निकायहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन्।