काठमाडाैं । साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
आक्रमणमा परी कम्तिमा ३०९ जना घाइते भएको साउदीको नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
मृत्यु हुनेहरूमा ४ जना साउदी नागरिक, बंगलादेशका दुई र अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान तथा इजिप्टका एक–एक जना नागरिक रहेको प्राधिकरणले जनाएको छ।
इरान समर्थित हुथी विद्रोहीले तेस्रोपटक विमानस्थलमा आक्रमण गरेका हुन्।
यो हमलालाई पछिल्लो एक दशकभन्दा बढी अवधिमा साउदी अरबमा भएको यो सबैभन्दा घातक आक्रमण भनिएको छ।
आक्रमणको पूर्वचेतावनी नदिइएको र घाइतेलाई एम्बुलेन्स तथा हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको अधिकारीहरूले बताएका छन्। घाइतेहरू केहीको अवस्था गम्भीर छ।
आक्रमणपछि रियाद विमानस्थल बन्द गरिएको थियो भने त्यहाँ अवतरण हुन लागेका जहाजहरूलाई अन्यत्र डाइभर्ट गरिएको थियो।
इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीमा सुरु गरेको युद्धको प्रभाव क्षेत्रीय द्वन्द्वमा फैलिँदै जाँदा हुथीले साउदी अरबमाथि आक्रमण तीव्र पारेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध साउदी अरबले गरिरहेको आक्रमणमा अमेरिका पनि सहभागी हुन सक्ने बताएका छन्।
‘हामी सहभागी हुन सक्छौँ। यसबारे विचार गर्नेछौँ। पछिल्लो आक्रमणबारे भर्खरै थाहा पाएका छौँ। त्यसैले निर्णय गर्नेछौँ। हामी छिटो काम गर्छौं,’ ट्रम्पले पत्रकारहरूसँग भने।
यसै साता विमानस्थलमा भएका दुई अघिल्ला आक्रमणमा चार जनाको मृत्यु भएको थियो। ती आक्रमणमा धावनमार्गमा पार्क गरिएको साउदी व्यावसायिक विमानमा पनि ठूलो क्षति पुगेको थियो।
हुथीले शनिबारको आक्रमणको जिम्मेवारी लिइसकेका छैनन्। तर साउदी नेतृत्वको सैन्य गठबन्धनले यसको जवाफ दिने चेतावनी दिएको छ।