काठमाडाैं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अनुसन्धानको काम सम्पन्न गरेको छ ।
अहिलेसम्मको अनुसन्धानमा बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने आरोपका सम्बन्धमा अनधिकृत व्यक्ति सहभागी भएको प्रमाण फेला नपरेको समिति स्रोतले बताएको छ ।
मंगलवार साँझ बसेको समितिको बैठकले नेपाल प्रहरीको फरेन्सिक ल्याबका विज्ञसँग छलफल गरेको थियो । अर्थ मन्त्रालयको सीसीटीभीबाट डिलिट भएको सीसीटिभी फुटेजमा पनि प्रष्ट केही नदेखिएको संसदीय समिति स्रोतले बताएको छ ।
समितिले प्रमाणको रुपमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेको थियो । समितिको अनुसन्धान सकिएको र अहिलेसम्म भएका कामबारे बुधबार छलफल हुने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/०८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको गम्भीर आरोप अर्थमन्त्री शर्मामाथि लागेको थियो । एमालेको आरोपपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।