काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै सरकारले मदिरा आयातमा प्रतिबन्ध लगाएकोमा मदिरा पैठारी संघले विरोध गरेको छ । यस्तो प्रतिबन्धले मदिरा आयात रोक्दा हुने बचत भन्दा आतिथ्य सत्कार उद्योगमा परेको नकारात्मक असर बढी हुने जिकिर उनीहरूको छ ।
सरकारले यही साउन १ देखि लागू हुने गरी महँगा सवारी साधन, मदिरा, सूर्तिजन्य तथा अन्य बिलासी वस्तुको आयातमा ४५ दिनका लागि प्रतिबन्ध थप गरेको छ ।
संघका अनुसार मर्यादित मदिराजन्य पदार्थमा वार्षिक करिव १ करोड २० लाख अमेरिकी डलर मात्र खपत हुन्छ । यो भनेको करिव १ अर्ब ५० करोड रुपैयाँमात्र हो । बजारमा मदिरा उपलब्धताको कमीले होटल व्यवसाय नै नकारात्मक प्रभाव पर्न थालेको संघले जनाएको छ ।
सरकारले मदिरा आयातबाट वार्षिक करिव ३ अर्ब ३० करोड राजश्व प्राप्त गर्दै आएकामा यो रोकले राजश्वमा समेत नकारात्मक असर पर्ने उनीहरूको भनाई छ । अझ पछिल्लो समय विदेशी बोलत बन्द मदिराको अवैध आयात र नक्कली मदिरासमेत बिक्री हुन थालेको भन्दै संघले चिन्ता जनाएको छ ।
‘भारतको उत्तरप्रदेश र पश्चिम बंगालहुँदै सीमा पारीबाट लोकप्रिय ब्रान्डहरूको ठूलो परिमाणमा तस्करी हुन थालेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘होटल, रेस्टुरेन्ट र बारले ठूलो आय आर्जन गुमाउन थालेका छन्, बढ्दो लागतको दबाबले कर्मचारी हटाउन बाध्य हुने अवस्था छ ।’
संघको तथ्याङ्क अनुसार विदेशी मदिरा औसत प्रतिलिटर १५ अमेरिकी डलरमा नेपाल भित्रन्छ । तर यसको नेपाल आएका विभिन्न मुलुकका पर्यटकले खपत गर्दा करिव १२० अमेरिकी डलर पुग्ने भएकाले मदिराबाटै विदेशी मुद्रा आर्जनमा योगदान पुगिरहेको प्रति ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।