काठमाडौं । पछिल्ला दिन कोभिड– १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । आज दुई हजार ९ सय ९६ नमूनाको परीक्षण गर्दा ३ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज ८६ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९ सय ७१ रहेको छ । काठमाडौँमा ५ सय बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै मोरङ र ललितपुरमा २ सय बढी सक्रिय सङ्क्रमित छन् ।
सङ्क्रमितमध्ये दुई हजार ८ सय ३२ जना ‘होमआइसोलेशन’, १ सय ३९ ‘संस्थागत आइसोलेशन’ र २५ जना ‘आइसीयूमा’ उपचाररत छन् । मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । आज दुई लाख ३६ हजार ७ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।