काठमाडौं । अब फेसबुकको न्युज फिड दुई भागमा देखिनेछ । फेसबुकले यो फिचर आईओएस र एन्ड्रोइड दवै प्लेटफर्ममा उपलब्ध गराउने घोषणा गरेको छ । यसअन्तर्गत फेसबुकमा होम सेक्सनलाई दुई भागमा विभाजन गरिएकाे छ ।
जसमा प्रयोगकर्ताले आफ्नो अकाउन्टमा एड गरेका साथीको पोस्ट, उनीहरू जोडिएको ग्रुप, उनीहरूले लाइक गरेको फेसबुक पेज र अन्य कन्टेन्ट देख्न सक्नेछन् । यसमा सजेस्टेड फर यु (तपाईंलाई सुझाव गरिएका पोस्ट) देखिने छैन ।
अहिले हामीले सबै पोस्ट देखिरहेको होम सेक्सनमा फेसबुकको एल्गोरिदमले हाम्रो चाहना अनुसारको रिल, स्टोरी तथा अन्य कन्टेन्ट देखाउनेछ भने अर्को फिड ट्याब बिल्कुलै फरक हुनेछ ।
मेटाले जारी गरेकाे विज्ञप्तिमा यो फिडलाई पिन गर्न सकिने जानकारी दिएको छ । यो अपडेट आगामी हप्तासम्म विश्वभरका प्रयाेगकर्ताका लागि उपलब्ध हुने कम्पनीले बताएकाे छ ।
“फेसबुकका लागि सबैभन्दा अनुरोध गरिएको फिचरमध्ये एक भनेको मानिसले आफ्ना साथीको पोष्ट नछुटाउन सुनिश्चित गर्नु हो,” फेसबुक पोस्टमार्फत मेटाका संस्थापक मार्क जुकरबर्गले लेखेका छन्, “त्यसैले आज हामी फिड ट्याब सार्वजनिक गर्दै छौं, जहाँ तपाईँहरूले आफ्ना साथी, ग्रुप, पेजका पोस्टहरू देख्न सक्नुहुनेछ । त्यसमा होम फिड पनि समावेश हुनेछ, जहाँ तपाईंलाई आवश्यक परेका पोस्ट एल्गोरिदमले त्यहाँ देखाउँछ ।”