क्रोधले मूढता उत्पन्न हुन्छ, मूढताबाट स्मृति भ्रान्ति हुन्छ , स्मृति भ्रान्त हुनाले बुद्धिको नाश हुन्छ र बुद्धि नष्ट हुनाले प्राणी आफै नष्ट हुन्छ : भागवतगीता । कुनै तपस्वी भएर अति क्रोधी भयो भने समाजमा उसको सम्मान हुने छैन : चाणक्य ।
सज्जनको क्रोध पानीमा तानिएको रेखा समान छ, जुन छिटै विलुप्त हुन्छ : रामकृष्ण परमहंस । क्रोध बुद्धिमानीको घरबाट बाहिर निस्केर ढोकाको चुकुल लगाइदिन्छ : प्लुटार्क ।
मानिसले क्रोध राख्नु हुँदैन र जहिले पनि क्षमा दिन तयार हुनुपर्छ, कसैले आफ्नो भाइबन्धुलाई घृणा गर्छ भने ऊ हत्यारा समान हुन्छ : जिसस क्राइष्ट । मानिसको आचरण कसैको घृणा वा क्रोधबाट बच्ने उपाय हो : कन्फ्युसियस । क्रोधबाट सम्मोहनको जन्म हुन्छ, सम्मोहनबाट बच्न खोज्नेले क्रोधी हुनबाट बच्नु पर्छ : उपनिषद् ।
बलियो मानिस भनेको राम्रो पहलमान होइन, बलियो मानिस भनेको त्यो हो, जसले आफ्नो क्रोधमाथि नियन्त्रण गर्छ : मोहम्मद । क्रोध बुद्धिमान तथा धर्मपरायणको लागि होइन, यिनीहरू त उत्पीडन सहन्छन् तर क्रोध गर्दैनन्, अज्ञानी पापीले मात्र क्रोध गर्छ : महावीर ।
क्रोधको होइन, प्रेमको सराहना गरिन्छ । क्रोध संघर्ष र विनाशको कारण हो । मानिसले क्रोधको जवाफ प्रेम र दयाले दिनुपर्छ : यहुदी धर्म । क्रोध शमसानमा आफूलाई जलाउने आगो हो : गुरू नानक ।
विद्वानको मत छ जुन मानिस स्वयम्लाई बशमा गर्न सक्छ, उसले विश्वलाई जित्ने छ । वास्तवमा शिक्षित त्यही मानिस हो, जसले आफैलाई बशमा गर्न सक्छ । जसले स्वयम्लाई वशमा गर्छ, त्यही महान् बन्छ ।
जीवनमा आत्मसंयम आवश्यक छ । जुन मानिसमा आत्मसंयमको कमी हुन्छ, जसलाई सानो कुरामा रिस उठ्छ, उसले कहिल्यै आफ्नो उच्च महत्वाकांक्षा पूरा गर्न सक्दैन । आफैलाई वशमा गर्न नसक्नाको कारण धेरै प्रतिभाशाली मानिस पनि पछाडि पर्छन् ।
उनीहरू अगाडि बढ्न चाहेर पनि अगाडि बढ्न सक्दैनन् । उनीहरूको भाविष्यलाई सबैले राम्रो भन्थे, तर पनि उनीहरू पछाडि परे । हरेक दिन यस्ता घटना घटिरहन्छन् ।
कसैले कसैको हत्या गरिदिन्छ, चोरी गर्छ, घाइते बनाउँछ । यस्ता घटना अधिकांश आवेशमा हुनेगर्छ । जब मानिसले आफ्नो सन्तुलन गुमाउँछ । क्रोधमा आएर मानिसले गल्ती गर्छ ।
साधु–सज्जनप्रति कसैले क्रोध गर्नु हुँदैन किनभने यी मानिसहरू अरूप्रति क्रोध गर्दैनन् । क्रोधको प्रत्युत्तर सदाचारले दिनुपर्छ । आफूसँग क्रोध गर्नेहरूप्रति सद्व्यवहार गर्नुपर्छ : ताओधर्म ।
क्रोध, इर्ष्या, भय, र शोकजस्ता घातक मनोभावबाट कहिल्यै ग्रसित हुनु हुँदैन, जहिले पनि आशावादी हुनुपर्छ : पारसी धर्म । जुन मानिस क्रोधीमाथि क्रोध गर्दैन, क्षमा गर्छ, ऊ आफू र क्रोध गर्ने व्यक्ति दुबैलाई महासंकटबाट रक्षा गर्छ : वेदव्यास ।
जुन मानिस आफ्नो क्रोधलाई आफू माथि उठाउँछ, त्यही अरूको क्रोधबाट बच्न सक्छ र आफ्नो जीवनलाई सुखी बनाउन सक्छ : सुकरात । जसले क्रोधमाथि उचित नियन्त्रण राख्न सक्छ, उही नै स्वर्गको साँचो अधिकारी हो : कुरान ।
जसले क्रोधमा विलम्ब गर्छ, ऊ महान विवेक सम्पन्न हो, तर जसमा उक्ताउलोपना छ, ऊ मूर्खताको उपासक हो : बाइबल । क्रोधको र्सोत्तम औषधि विलम्ब हो : सेनेका । क्रुद्ध मानिसको मुख त खुल्ला हुन्छ, तर आँखा बन्द रहेको हुन्छ : क्योटो ।
भाग्य शब्द त अकर्मण्यताको प्रतिक हो । त्यसैले मनोवैज्ञानिक, बुद्धिमानले यसलाई समयको सदुपयोग भन्छन्, मौकाको फाइदा उठाउनु । यसको बलमा मानिसले प्रर्याप्त सफलता प्राप्त गर्न सक्छ : स्वेट मार्डन ।
मानिससँग बुद्धि हुन्छ । बुद्धिको कारण मानिस अरू प्राणीभन्दा अलग हुन्छ । जनावर जब क्रुद्ध हुन्छ, तब ऊ केही नसोची झगडा गर्न थाल्छ । कहिलेकाहीँ उसको यो आपसी झगडा एक मृत्युमा गएर रोकिन्छ ।
हामी मानिसमा पनि यही कुरा देख्छौँ, रिसमा बशीभूत भएर मानिसहरू हत्या समेत गर्छन् । सोच्नुस् यस्तो मानव र बुद्धिहीन पशुमा के अन्तर छ ? बुद्धिमता त तब हुने थियो, जब हामीले आफ्नो क्रोध र आवेशमा काबु पाउनेछौं ।
क्रोधले बुद्धिमा पर्दा लगाइदिन्छ । यो संसारमा ठुला–ठुला लडाइँ, जुन हजारौं मानिसको विनाश र संहारको कारण बन्यो, त्यसको पछाडि कतै न कतै क्रोधको हात रहेको छ । क्रोधले सदा नोक्सान नै गर्छ । अन्ततः क्रोधलाई शत्रु मानेर त्योदेखि बच्नु नै बुद्धिमानी हो ।
ज्ञानीलाई सबैभन्दा धेरै चक्करमा पार्ने यदि कुनै वस्तु छ भने त्यो हो मूर्खको हाँसो : बाइरन । हाँसोले मनको गाँठोलाई सजिलै खोलिदिन्छ, मेरो मनको मात्र हैन, तिम्रो मनको पनि : माहात्मा गान्धी ।
जब म आफैप्रति हाँस्छु, तब मेरो मनको बोझ हल्का हुन्छ : टैगोर । मानिसले आफ्ना समयको केही भाग अवश्य हाँस्नमा बिताउनु पर्छ : जोन्सन । हामीलई हाँसो तब उठ्छ जब हामी कुनै वस्तु र त्यसको मनोभावमा एकाएक कुनै असम्बद्धता या असंगति देख्छौँ : शोपेन हावर ।
हाँसोको सुन्दर पृष्ठभूमिमा यौवनको सुमत फुल्छ, यौवनलाई तरोताजा राख्नका लागि खुब हाँस्नुस् : जर्ज बर्नार्ड शा । मानव नै केवल एक यस्तो प्राणी हो, जसमा हाँस्ने शक्ति छ : ग्रेवाइल ।
अनुहारमा मुस्काराहट ल्याउनुस् । हँसिलो अनुहार बनाउनुस् । हाम्रो हृदयको हर भावनाले या त शरीरलाई स्वस्थ सुन्दर बताउँछ या रोगी र कुरूप । मुस्कुराहटबाटै अनुहार सुन्दर बन्छ । जब तपाई दीर्घकालसम्म जीउन चाहनु हुन्छ र हाँसीखुशी जीउन चाहनु हुन्छ, तब किन हाँस्नु हुन्न ?
किनकि तपाईको अनुहारमा हाँसो छैन ? किन तपाई हर समय उदास, बेचैन, चिन्तत र संशयको स्थितिमा रहनु हुन्छ ? तपाई चिन्ता छाड्न सक्नु हुन्छ । संशयात्मक प्रवृत्ति पनि बदल्न जान्नु हुन्छ ।
आत्मविश्वासी पनि तपाई हुनुहुन्छ । तपाईको पोल्टामा सफलता पनि आइरहेको छ । तर पनि तपाई किन पत्थरको मूर्ति झैं चुपचाप बसिरहनु हुन्छ । किन आठौँ प्रहर तपाईको अनुहारमा हाँसो हुँदैन ?
(संकलन : मिलन आफन्त)