• बैशाख २६ २०८३, शनिबार

एम.अधिकारीको खोजी भैरहेका बेला ओलीले भने ‘कांग्रेसको न्याय विभागमा पनि न्यायाधीश नै छन्’

श्रावण ६ २०७९, शुक्रबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले काँग्रेसको केन्द्रीय विभागमा न्यायाधीश नै रहेको बताएका छन् । ‘सबै ठाउँमा काँग्रेस त छन् नि न्यायालयमा काँग्रेस छन् । काँग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन ? राजीनामा दिएको त सुनिएन’, ओलीले भने, ‘म भन्दिनँ कुन कुन परिवारका सदस्य भनेर ।’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमाले कार्यकर्ता भएको आरोप लागिरहेको र एमालेले उनी एमाले कार्यकर्ता होइनन् भनि आश्वस्त पार्न नसकेको बेला ओलीले ‘कांग्रेसको न्याय विभागमा न्यायाधीश नै छन्’ भनेर दिएको अभिव्यक्तिले हाल खोजी भइरहेका एम. अधिकारी नै गभर्नर हुन् भन्ने संकेत ओलीको बोलीबाट बुझ्न सजिलो भएको छ ।

शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानको अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले ल्याएको बजेट भ्रष्ट भएको टिप्पणी पनि गरे । ‘यो भ्रष्ट बजेट हो । फुटेज हटाउनु र ड्यामेज गर्नु नै पर्याप्त छैन र ? हल्लालाई बहस र बहसलाई हल्लामा परिणत गर्ने मेरो रुची छैन’, ओलीको भनाइ छ ।

ओलीले यति होल्डिङ्सलाई राजतन्त्रका पालामा दिएको र सुशिल कोइरालाका पालमा ट्रान्सफर गरेका भन्दै बचाउ गरे । ओलीले आफ्नो नेतृत्वको सरकारले विकास र निर्माणका सही नीति लिएको दावी समेत गरे ।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा प्रतिष्ठानले गर्ने कामका बारेमा चर्चा गर्दै कम्युनिस्ट आन्दोलन तथा पार्टीले भविष्यमा लिने नीति र सरकारका कामकारवाही बारे विश्लेषण गर्ने जानकारी दिएका थिए ।

त्यस्तै पूर्वअर्थमन्त्री समेत रहेका एमाले नेता युवराज खतिवडाले वर्तमान अर्थतन्त्रबारे समिक्षात्मक टिप्पणी गरेका थिए । उनले दक्षिण एसियामा नेपाल अर्थतन्त्रको हिसाबले कहाँ छ र वर्तमान सरकारको क्रियाकलाप र अर्थतन्त्रका बारेमा प्रस्तुती दिएका थिए ।

उनले विगत दुई दशकको स्थिति हेर्दा सशस्त्र द्वन्द्वका कारण मुलुकका आर्थिक जुइना खुस्काएको तथा त्यसपछि ७२ को भुकम्प र कोभिड लगायतले पनि असर गरेको बताए ।