काठमाडौं । प्रतिनिधि सभामा बहस भइरहेको नागरिकतासम्बन्धी विधेयकमाथि टिप्पणी गर्दै पूर्वमन्त्री रामकुमारी झाँक्रीले ‘विदेशी बुहारीलाई तुरुन्तै नागरकिता दिने तर ज्वाइँलाई कहल्यिै पनि नदिने’ प्रावधान पितृसत्ताको उपज भनेर सार्वजनिक टिप्पणी गरेपछि गठबन्धन पार्टीहरूमा अहिले तनाव उत्पन्न भएको छ ।
सत्तासिन पार्टी नेकपा (एकीकृत समाजवादी) की सांसद रामकुमारी झाँक्रीले नागरकिताको प्रावधानमा समानता हुनुपर्ने भन्दै ‘बुहारीलाई भित्र्याउने बित्तिकै नागरिकता दिने तर ज्वाइँलाई कहल्यै पनि नागरिकता नदिने सोच पितृसत्तावादी भएको’ बताएकी हुन् ।
प्रतिनिधि सभाको बैठकमा गरिएको झाक्रीको टिप्पणी पीडित ज्वाइँ पुरुषहरूको पक्षमा रहेको कुराले धेरैलाई अचम्भित पारेको छ । पुरूषका बारेमा महिलाले आवाज उठाएको विरलै सुनिन्छ । त्यसमा पनि नागरिकताको विषयलाई लिएर पुरूषको पक्षमा कुरा उठाउने गरेको त निकै कम नै देखिने गरेको छ ।
तथापि सांसद झाक्रीले नागरिकता संशोधन प्रस्ताव राख्दै ‘छोराले विहे गरेर ल्याएको गैरनागरिकले तुरन्तै नागरकिता पाउने तर छोरीले विहे गरेर ल्याएको गैरनागरिकले कहिल्यै नागरिकता नपाउने’ विषय आफैमा विभेदकारी रहेको कुरा औंल्याएकी थिइन् ।
उनको जोड थियो, ‘वैवाहिक अंगीकृतको सन्दर्भमा छोराले विहे गरेर ल्याउने नागरिकको हकमा मात्र नभएर छोरीले विहे गर्नेको हकमा पनि हो ।’ यो विभेद पितृसत्ताले ग्रस्त मानसिकताको उपज भएको उनको ठहर थियो ।
झाक्रीका अनुसार नागरिकतासम्बन्धी यो विषय अहिलेसम्म सामान्य रूपमा लिइए पनि यसले ठूलो समस्या सिर्जना गर्ने पेचिलो विषय भने हो । उनको जोड थियो, नेपाली आमाले जन्माएका छोराछोरीले निर्वाध रूपमा नागरिकता पाउने व्यवस्था होस् ।