काठमाडौं । मेटाले फेसबुक र इन्स्टाग्रामका अर्बौं प्रयोगकर्ताका लागि नयाँ गोपनीयता नीति ल्याउने भएको छ । आउँदाे जुलाई २६ देखि लागू हुनेगरी ल्याइएको गोपनीयता नीति अन्तर्गत प्रयोगकर्ताको डेटा सुरक्षाकाे विषय उठाइएकाे छ ।
यसमा मुख्यगरी दुई परिवर्तन गरिएकाे छ । अब प्रयोगकर्ताले उनीहरूको जानकारी कसरी प्राेसेसिङ हुन्छ भनेर आफैंले नियन्त्रण गर्न सक्छन् । त्यसमा आएको नयाँ सेटिङका माध्यमबाट प्रयाेगकर्ताले आफ्नो पोस्ट डिफल्ट रूपमै कसले देख्नसक्ने वा नसक्ने भन्ने कुरा नियन्त्रण गर्न सक्नेछन् ।
मेटाका प्रमुख गोपनीयता अधिकृत मिचेल प्रोटीले आफ्नो ब्लग पोस्ट भनेका छन्, ‘हाम्रो प्लेटफर्म प्रयोग गरिरहेका प्रयोगकर्ताले हामीबाट के अपेक्षा गरेका छन् भन्ने कुरा प्रष्ट रूपमा व्याख्या गर्न चाहन्छौं ।’
उनले त्यसमा कम्पनीले कस्तो अवस्थामा अकाउन्ट डिसेबल गर्ने वा हटाउने भन्ने कुरा र प्रयोगकर्ताले अकाउन्ट डिलिट गरिसकेपछि के हुन्छ भन्ने कुराको विस्तृत जानकारी समावेश गर्ने जानकारी दिएका छन् ।