• मंसिर ७ २०८१, शुक्रबार

नेपाल टेलिकमले घटायो महसुल शुल्क

श्रावण १ २०७९, आईतवार

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आजदेखि नयाँ दर लागू भएको छ।

सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएचलगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २५ सय रुपैयाँ रहेकोमा अब १६ सय रुपैयाँमात्र हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि २३ सय रुपैयाँबाट घटाएर १६ सय रुपैयाँ कायम गरिएको छ । ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल क्रमशः रु. २१ सय रुपैयाँ र १९ सय रुपैयाँ रहेकोमा अब दुवैको महसुल दर १५ सय रुपैयाँ कायम गरिएको छ ।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २७ सय रुपैयाँ रहेकोमा अब रु. २४ सय रुपैयाँ काम गरिएको छ ।

त्यस्तै ११ देखि १०० एमबीपीएसको २४ सय रुपैयाँ रहेकोमा अब २१ सय रुपैयाँ र १०० एमबीपीएसभन्दा बढीको रु. २१ सय रुपैयाँ रहेकोमा अब रु. १८ सय रुपैयाँ कायम गरिएको छ ।