काठमाडौं । हरेक वर्ष जस्तै अन्तिम समयमा बजेट खर्च अत्यधिक देखिएको छ ।
असार मसान्तको अन्तिम दिन संघिय सरकारले एकै दिन २४ अर्ब रुपैयाँको चेक काटेको छ । शुक्रबार सरकारले सरकारले २४ अर्ब २१ करोड ४१ लाख रुपैयाँ भुक्तानी दिएको हो।
विकास निर्माणको लागि मात्रै शुक्रबार सरकारले ९ अर्ब ८४ करोडको भुक्तानी दिएको दिएको महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कले देखाएको हो।
त्यस्तै चालू खर्चको लागि सरकाले ५ अर्ब ३२ करोड र वित्तीय व्यवस्थापनको लागि सरकारले ९ अर्ब रुपैयाँ भुक्तानी गरेको हो । आज शनिबार भए पनि सरकारले राजस्व संकलन र भुक्तानीको व्यवस्थालाई खुल्ला गरेको छ। असार मसान्त भएकोले सरकारले सेवा खुला गरेको हो।
एक दिन बाँकी रहँदासम्म सरकारको कुल खर्च १३ खर्ब १ अर्ब ४२ करोड रुपैयाँ अर्थात् ८० प्रतिशत पुगेको छ।
त्यसो त सरकारले असार महिनामा मात्रै २ खर्ब ५३ अर्ब रुपैंयाँ खर्च गरेको हो। असार १ गते १० खर्ब ४८ अर्ब रुपैयाँ खर्च भएको तथ्याङ्क महालेखा नियन्त्रकको कार्यालयले उल्लेख थियो। तर आजसम्ममा १३ खर्ब १ अर्ब खर्च भएको महालेखाले जानकारी दिएको छ।
राजस्व संकलन भने सरकारले ९० प्रतिशत गरेको हो। ११ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको सरकारले हालसम्म १० खर्ब ५९ अर्ब रुपैयाँ संकलन गरेको हो। त्यस्तै असार महिनामा मात्रै सरकारले १ खर्ब १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो।
असार १ गते ९ खर्ब ४५ अर्ब रुपैयाँ आम्दानी गरेको सरकारले आज सम्ममा १० खर्ब ५९ अर्ब रुपैयाँ आम्दानी गरेको देखिएको हो।