काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि उच्च अदालतका न्यायाधीश रेणु साह बर्खास्तीमा परेकी थिईन् ।
बैठकले जिल्ला अदालत बर्दियाका न्यायाधीश लोकजंग शाहलाई पदमुक्त गर्नका लागि पनि सिफारिस गरेको छ । त्यस्तै तुलसीपुर उच्च अदालतकी न्यायाधीश कविता उप्रेतीलाई सचेत गराउने निर्णय परिषद्ले गरेको एक सदस्यले बताए ।
अन्सारी र शाह खराब आचरण र कार्यक्षमताको अभावमा बर्खास्तको सिफारिसमा परेका हुन् । परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उनीहरुलाई बर्खास्त गर्ने व्यवस्था रहेको छ ।